- संगालोखबर सम्वाददाता

धनकुटा । घर खानतलासी गर्दा लागुऔषध राखेको भेटिएपछि धनकुटाका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–६ रमाइलो घुम्तीका–२३ बर्षीय रुपेश मरिक र धनकुटा–७ सिरवानीका २९ बर्षीय प्रबिण भनिने हरीसुन्दर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

यसअघि हिजो दिउँसो धनकुटाको बुढीमोरङ घर भई धरान–१९ सगरमाथा चौक बस्दै आएका २३ बर्षीय भीमराज लिम्बुलाई मदनचौकबाट प्रहरीले लागुऔषधसहित पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनको साथबाट लागुऔषध एभिल ४४ एम्पुल, लुप्रिजेसिक ३८ एम्पुल र डाइजेल्याब ४८ एम्पुल बरामद भएको छ । उनले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध प्रयोग गर्ने ४ वटा सुई र २ बोतल वियरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बुलाई अनुसन्धानका क्रममा सोधपुछ गर्दा उनले धनकुटाका रुपेश र हरीसुन्दरको नाम लिएका थिए । सोही आधारमा हरीसुन्दरको घर खानतलासी गर्दा कोठाबाट लागुऔषध एभील २० एम्पुल, लुप्रिजेसिक २० एम्पुल, डाइजेल्याब २० एम्पुल र प्रोमेथाजिन २० एम्पुल बरामद भएपछि हरीसुन्दर र रुपेशलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । ‘घर खानतलासी गर्दा लागुऔषध भेटिएपछि दुवै जनालाई पक्राउ गरेका छौं,’ एसपी अधिकारीले संगालोखबरसँग भने,‘संलग्न तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान गर्दैछौं ।’

पक्राउ परेका हरीसुन्दर टेम्पु चालकसमेत हुन् । उनले घरमा लागुऔषध भण्डारण गरी आफु पनि प्रयोग गर्ने र अरु प्रयोगकर्तालाई बिक्रि वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जैसवालले बताए ।

पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले जिल्ला अदालतमा लागुऔषध सम्बन्धि मुद्दा दायर गरेको छ । मुद्दा दायर गरेर अदालतबाट पाँच दिनको म्याद थप गरेर उनीहरुको कारोवारका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि…

धनकुटाबाट लागुऔषधसहित एक युवा पक्राउ (भिडियोसहित)

Please Subscribe to Sangalo Khabar Youtube Channel.
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!