- रबिन कटेल/संगालोखबर

धनकुटा । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा विना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुँने एम्बुलेन्स ट्राफिक प्रहरीको चेकिङमा पनि खासै पर्दैनन् । यही मौकाको फाइदा उठाउँदै एम्बुलेन्समा अवैध सामानको ओसारपसारसमेत हुँने गरेको घटना बेला–बेला सार्वजनिक हुँदै आएका छन् ।

Advertisement

हो, यस्तै घटना धनकुटामा पनि भएको छ । एम्बुलेन्समा राखेर लैजादै गरेको अवस्थामा धनकुटाको स्कुलडाँडाबाट आज बिहान अबैध गाँजा र रक्सी बरामद भएको छ । विराटनगर सिटी हस्पिटल प्रा.लि.को को.१ च ४६१५ नम्बरको एम्बुलेन्समा राखेर विराटनगरतर्फ लैजादै गरेको अवस्थामा गाँजा र रक्सी फेला परेको हो । एम्बुलेन्सबाट प्रहरीले ३ सय ग्राम गाँजा र दुई लिटर लोकल रक्सी बरामद गरेको छ । बरामद गाँजा र रक्सीको परिमाण धेरै होइन । तरपनि अबैध ओसारपसारको ‘सुरक्षित साधन’ का रुपमासमेत वेला–वेला दुरुपयोग हुँने गरेको एम्बुलेन्समा भेटिएको अबैध सामानले यो एक घटना मात्र हुनसक्ने कुरामा आशंका उब्जाएको छ । यसले थप रहस्यको संकेत पनि गरेको छ ।

तस्वीर: सोहन लिम्बू

बिरामी बोक्ने साधनमा अबैध सामाग्री ओसारपसार गरेको भेटिएपछि प्रहरीले एम्बुलेन्ससहित चालक विराटनगर–१४ का ३० बर्षीय नरेश शाह र एम्बुलेन्समा सवार श्रवण मण्डललाई नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा विरामी भने थिएनन् । सो एम्बुलेन्स विराटनगरबाट आइतवार अपरान्ह विरामी पुर्याउँन भन्दै हिले गएको बताइएको छ । हिलेबाट विराटनगरतर्फ फर्कदै गर्दा बिहान करिब ९ बजे स्कूलडाँडामा सो एम्बुलेन्स दुर्घटना भएपछि एम्बुलेन्सले अवैध सामान बोकेको रहस्य खुलेको हो । एम्बुलेन्स अनियन्त्रित भई सडकको नाली पार गरेर स्कूलडाँडाका कुलबहादुर ब्लोनको घरको आँगनमा पुगेको छ । घटनापछि स्थानीयबासीले प्रहरीलाई खबर गरे । प्रहरी र स्थानीयबासीले एम्बुलेन्सभित्र गाँजा फेला पारेका हुन् ।

सोधपुछ र परीक्षण गर्दा चालकले मादकपदार्थ (निगार) पनि सेवन गरेको पाइएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले बताए । ‘ड्राइभरसहित दुवै जनाले हिलेमा निगार खाएर आएका रहेछन्, दुर्घटनापछि एम्बुलेन्समा हेर्दा गाँजा र रक्सी भेटियो,’ एसपी अधिकारीले संगालोखबरसँग भने,‘अबैध सामान भेटिएपछि एम्बुलेन्ससहित दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौ ।’

चालक विराटनगरमा, एम्बुलेन्स पुग्यो धनकुटा

गाँजा र रक्सी वोकेको एम्बुलेन्स लिएर विराटनगर जाँदै गर्दा पक्राउ परेका चालक शाह सो एम्बुलेन्सका वास्तविक चालक नभएको रहस्य खुलेको छ । सो एम्बुलेन्सका वास्तविक चालक वसन्त मण्डल हुन् । धनकुटामा एम्बुलेन्स दुर्घटना भएर गाँजा बरामद हुँदा चालक मण्डल विराटनगरमै थिए ।

एम्बुलेन्सका साहू एवं विराटनगर सिटी हस्पिटल प्रा.लि.का सञ्चालक डा.सुनिल यादव पनि एम्बुलेन्सबाट पक्राउ परेका चालक शाहलाई आफुले नचिनेको बताउँछन् । ‘हाम्रो एम्बुलेन्स ड्राइभर बसन्त मण्डल हो, धनकुटामा हाम्रो एम्बुलेन्समा पक्राउ परेको ड्राइभर को हो मैले चिनेको छैन,’ डा.यादव भन्छन्,‘बसन्तले म धनकुटा पुगेको छु, राती अवेर भयो यतै बस्छु र बिहान आउँछु भनेको थियो । अहिले एम्बुलेन्समा बसन्त नभएर अर्कै ड्राइभर फेला पर्यो भन्दा म आफै छक्क परे ।’

यता, एम्बुलेन्सका वास्तविक चालक मण्डलले आफु पारिवारिक कारणले विरामी पुर्याउँन धनकुटा जान नसकेकाले अर्कै साथिलाई पठाएको प्रतिक्रिया दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!