संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

सिरहा । सिरहाको लहान नगरपालिका–२३ गढीया चौकमा गएराती सुनचाँदी व्यवसायीको हत्या भएको छ । हतियारधारी समूहले गोली हानेर सुनचाँदी पसल गर्दै आएका स्थानीय ४० वर्षीय प्रदीप विश्वकर्माको हत्या गरेको हो । प्रदीपकी श्रीमती अमितामाथि पनि धारिलो हतियार प्रहार भएको छ ।

आक्रमणमा संलग्न समूहको पहिचान खुलेको छैन । डकैती गर्न मध्यराती भर्याङ हालेर घरभित्र प्रवेश गरेको समूहलाई रोक्न खोज्दा उनीहरुमाथि आक्रमण भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी तपन दाहालले बताए । ‘डकैती गर्न राती करिब पौने १ बजे घरपछाडि भर्याङ हालेर छतबाट भित्र प्रवेश गरेको पाइयो,’ डिएसपी दाहालले संगालोखबरसँग भने,‘डकैती गर्न आएकाहरुलाई रोक्न खोज्दा गोली प्रहार भएछ, घटनामा संलग्न भएको आशंकामा हामीले दुई जनालाई राती नै पक्राउ गरेर अनुसन्धान गर्दैछौ ।’

Advertisement

गोली प्रहारबाट गंभीर घाइते भएका प्रदीपलाई राती स्थानीय अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा राती नै उनको मृत्यु भएको हो । हतियार प्रहारबाट घाइते भएकी अमिताको लहान अस्पतालमा उपचार भइरहेको छ । घटनापछि प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका व्यक्तिको साथबाट फलामको छिनो बरामद भएको डिएसपी दाहालले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

विश्वकर्मा परिवारले कोठा भाडामा लिएर उक्त घरमा सुनपसल गर्दै आएका छन् । डाकासमूहले विश्वकर्मा दम्पतीलाई आक्रमण गरी पसलबाट सुन, चाँदीसमेत लुटेर लगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!