काठमाडौं । नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको शुक्रबार राती निधन भएको छ । नर्भिक अस्पतालमा उपचारका क्रममा नेता जोशीको निधन भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पुष्टि गरेका छन् ।
५७ बर्षीय काँग्रेस केन्द्रीय सदस्य जोशीलाई मष्तिष्कघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालको अति सघन कक्षमा राखेर उपचार भइरहेको थियो । २०३६ सालबाट विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा प्रवेश गरेका जोशी २२ वर्षको उमेरमा नेवीसंघको महामन्त्री बने ।
२०४९ सालको स्थानीय निर्वाचनमा बिजयी बन्दै उनी काठमाडौं महानगरपालिकाको उप मेयर निर्वाचित भएका थिए । माओवादी–कांग्रेस गठबन्धनबाट बनेको प्रचण्ड नेतृत्वको सरकारमा उनी उद्योग मन्त्री बनेका थिए । जोशीका श्रीमती र एक छोरी छन् ।