पत्रपत्रिका खवर

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् ।

Advertisement

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह देशभर आवश्यक माहोल खडा गर्दै निर्वाचनको तयारीमा होमिएको छ भने नेकपाका माधवकुमार नेपाल र पुष्पकमल दाहाल समूह प्रतिनिधिसभा पुनस्र्थापना गराउन पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने रणनीति बनाउँदै छ । सो समूहले जसरी भए पनि निर्वाचन रोक्ने गरी आवश्यक गृहकार्य अघि बढाउने भएको छ ।

बिहीबार दुवै समूहको छुट्टाछुट्टै बसेको स्थायी कमिटी बैठकले आआफ्नै तयारीअनुसार आफ्ना एजेन्डालाई सफल बनाउने विषयमा छलफल गरेका छन् । ओली समूहले त निर्वाचनलाई निर्धारित समयमा सम्पन्न गर्न आफ्ना सबै कार्यकर्तालाई गाउँगाउँमा परिचालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहका स्थायी कमिटीको अनौपचारिक बैठकले सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी आवश्यक तयारीमा जुट्नुपर्ने निष्कर्ष निकालेको हो । १७ र २७ वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा यसअघि नै भइसकेको छ । निर्वाचन आयोगसमेत निर्वाचनको पूर्वतयारीमा जुटिसकेको छ ।

हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण तथा बैठकले पार्टीको पक्षमा सोचेभन्दा बढी जनलहर प्राप्त भएको निष्कर्ष निकाल्दै ओली समूह यस्ता कार्यक्रम निर्वाचनसम्म नै जारी राख्ने निष्कर्षमा पुगेको छ ।

– आफ्नो पक्षमा जनलहर आएको प्रधानमन्त्रीको जिकिर
– चुनावमा जित हासिल गर्न गाउँगाउँसम्म कार्यकर्ता परिचालन गरिने
– दाहाल–नेपाल समूह भने गाउँसम्मै आन्दोलन पु(याउने तयारीमा

छलफलमा सहभागी नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीद्वारा जारी प्रदर्शन, भेला, प्रशिक्षण तथा बैठकले प्राप्त जनलहरलाई निर्वाचनसम्मै जारी राख्ने निष्कर्ष निकालिएको बताए ।
‘प्रधानमन्त्रीज्यूले तोकिएकै मितिमा निर्वाचन हुने भएकाले त्यसको तयारीमा जुट्न निर्देशन दिनुभएको छ,’ नेम्वाङले भने, ‘अहिले जारी प्रदर्शन, भेला प्रशिक्षणले नेकपाको पक्षमा जनलहर प्राप्त भएको र यसलाई निर्वाचनसम्म कायम राख्ने निष्कर्ष छ ।’

यसैगरी छलफलमा पार्टी आधिकारिकता सम्बन्धी निर्वाचन आयोगमा भएको प्रगतिको विषयमा समेत समीक्षा भएको छ । ‘प्रधानमन्त्री ओलीले हामीलाई निर्वाचन आयोगमा भएको प्रगति, सर्वोच्चमा रहेको विचाराधीन मुद्दासहित अन्य विषयमा ब्रिफिङ गर्नुभयो र निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने निर्देशन दिनुभयो,’ नेम्वाङले भने ।

छलफलमा प्रधानमन्त्री ओलीले आफूहरू नै आधिकारिक नेकपा भएको र सूर्य चिह्न पनि आफूहरूले नै पाउने बताएका थिए । ‘हामी नै आधिकरिक हौं । प्रथम अध्यक्ष र महासचिव हामीसँग छ । विधानअनुसार प्रथम अध्यक्ष र महासचिवविना कसैले बैठक गर्न सक्दैन त्यसैले सूर्य चिह्न र नेकपा हाम्रै हो,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

उता नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि जारी आन्दोलनलाई अझै सशक्त बनाउने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको बैठकपछि नेकपा सचिवालय सदस्य एवं आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले बैठकले जारी आन्दोलनलाई थप सशक्त तथा प्रभावकारी बनाउने निष्कर्ष निकालेको बताए ।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेकाले पुनस्र्थापना हुन्छ,’ श्रेष्ठले भने, ‘अहिले जारी दोस्रो चरणको आन्दोलनलाई थप सशक्त एवं प्रभावकारी बनाउने बैठकको निष्कर्ष छ ।’ दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ ।-सुभाष साहले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!