- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियाका टेकबहादुर अधिकारीको शव इटहरीमा फेला परेको छ । शरिरका बिभिन्न भागमा चोटपटक लागेको अवस्थामा इटहरी उप–महानगरपालिका–१० स्थित ट्याङ्ग्रा खोलामा ४७ बर्षीय अधिकारीको शव भेटिएको हो ।

खोलाभित्र पानीमा डुवेको अवस्थामा गत आइतवार विहान शव फेला परेको भएपनि शवको पहिचान हुन सकेको थिएन । मृतकको साथमा रहेको मोवाइलबाट सिम निकालेर प्रहरीले आफन्तको मोवाईल नम्बरका आधारमा शवको पहिचान गरेको हो । निधार र घाँटीमा चोट हुनुका साथै कम्मरको भाग सुन्निएको र तिघ्रामा निलडाम भएको अवस्थामा शव भेटिएको मृतकका भाई रामबहादुरले संगालोखबरलाई जानकारी दिए । ‘शरिरका ठाउँ–ठाउँमा चोट र निलडाम छ ।’ उनले भने–‘लास हेर्दा मारेर फालिएको प्रस्ट देखिन्छ । हामीले हत्यारालाई पत्ता लगाएर कारबाही गर्न प्रहरीमा उजुरी दिएका छौं ।’

घटनापछि मृतकका आफन्तले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएका हुन् । मृतकको शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टम गरिएको छ । परिवार स्रोतका अनुसार मृतक अधिकारी करिब एक बर्षअघिदेखि विराटनगर बस्दै आएका थिए । सुरुवातमा उनी एक ठाउँबाट अर्को ठाउँमा तरकारी सप्लाई गर्ने काम गर्थे । पछि निर्माणको काममा मजदुरी गर्दै आएका थिए ।

अन्तिम पटक गत शुक्रबार श्रीमती र छोरीसँग उनको फोन सम्पर्क भएको थियो । फोनमा उनले आफु केही दिनपछि आउँने बताएका थिए । तर, दुई दिनपछि उनको शव फेला परेको हो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!