- पत्रपत्रिका खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप आयातका लागि सरकारले कूटनीतिक र प्राविधिक तयारी तीव्र बनाएको बताए पनि खोप आउनेबारे अन्योल देखिएको छ । कोभ्याक्स वा निजी क्षेत्रमध्ये कसले अघि ल्याउने अझै अन्योल छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न मिल्ने भ्याक्सिनलाई प्राथमिकतामा राखेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत खोप तथा बाल स्वास्थ्य शाखाका प्रमुख डा. झलक शर्मा गौतमले भने, ‘अहिलेसम्म यो देशको खोप ल्याउने भनेर निक्र्योल भएको छैन । हामीले दुईदेखि आठ डिग्री सेन्डिग्रेडमा भण्डारण गर्न सकिने खोप प्राथमिकतामा राखेका छौं ।’

औषधि व्यवस्था विभागले नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि अहिलेसम्म निजी क्षेत्रबाट कसैले पनि निवेदन दर्ता नगरेको जनाएको छ । सरकारले कोभ्याक्समार्फत आउने भ्याक्सिन ढिलो आए निजी क्षेत्रले समेत भ्याक्सिन ल्याउन सक्ने बताए पनि हालसम्म निजी क्षेत्रबाट कसैले पनि अनुमति नमागेको जनाएको हो ।

औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ मा महामारीका रूपमा फैलिएको संक्रामक रोगको रोकथाम, नियन्त्रण वा निर्मूल गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा आपतकालीन प्रयोगको अनुमति प्रदान गरेका औषधि वा खोपलाई नेपालमा औषधि व्यवस्था विभागले दर्ता गर्ने व्यवस्था गरिएको छ ।

कोरोनाविरुद्धको खोप ल्याउन निजी क्षेत्रले चाहे औषधि व्यवस्था विभाग अनुमति दिन तयारी अवस्थामा रहेको छ । विभागका वरिष्ठ औषधि व्यवस्थापक एवं प्रवक्ता सन्तोष केसीका अनुसार कुनै आधिकारिक आयातकर्ताले भ्याक्सिन प्रयोग अनुमतिका लागि निवेदन दिएमा विभाग तयारी अवस्थामा छ ।

उनले भने, ‘कुनै पनि आधिकारिक आयातकर्ता विभागले तोकेका कागजातसहित आयो भने भ्याक्सिन प्रयोगका लागि अनुमति प्रक्रिया अघि बढ्छ । तर निजी क्षेत्रबाट अहिलेसम्म निवेदन आएको छैन ।’

विभागका अनुसार कोरोनाविरुद्धको खोप आयातका लागि मुख्यतः भ्याक्सिन ल्याउन लागिएको सम्बन्धित देशले मास प्रयोगका लागि उपलब्ध गराएको अनुमति पत्र, भ्याक्सिन उत्पादन कम्पनीको आधिकारिक विक्रेता खुलाउने सम्झौतापत्र, सम्बन्धित देशले दिएको उत्पादन अनुज्ञापत्र, सीओपीपीलगायतका कागजपत्र आवश्यक पर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सभामा बोल्दै नेपालले छिट्टै कोरोनाविरुद्धको खोप ल्याउने बताएका थिए । कोभिड–१९ खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले प्रभावकारिता र सुरक्षा सुनिश्चित भएका खोपलाई मात्रै नेपालमा प्रयोग गर्न अनुमति दिइने बताए ।

भारतमा १६ जनवरीबाट कोभिड १९ विरुद्धको खोप दिनने तयारी थालिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी र फ्रन्टलाइनरलाई यो खोप दिइनेछ । भारतमा उत्पादन भएको खोप भिœयाउन कूटनीतिक प्रयास जारी छ । त्यसका लागि भारतस्थित नेपालका राजदूत निलाम्बर आचार्यले भारतीय अधिकारीसँग पहल गरिरहेका छन् ।

आइतबार देशभर २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ । जसमध्ये ४ हजार ४२२ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ३ हजार ३९९ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या १९ लाख ८२ हजार २४६ पुगेको छ ।

आइतबार थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९१७ पुगेको छ । हाल २५७ जना क्वारेन्टिनमा छन् । आइतबार ५१३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ । – प्रशान्त वलीले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!