
विराटनगर । विराटनगर महानगरपालिका-३ का नागरिकलाई आर्या न्युरो अस्पतालले सहुलियत स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । आज वडाध्यक्ष बासुबहादुर बस्नेत र आर्या न्युरो हस्पिटलका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार विराटनगर-३ का नागरिकले अब आर्या न्युरोमा १० देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । गुणस्तरीय न्युरो तथा अन्य स्वास्थ्य सेवा सहज, सुलभ र सहुलियत दरमा उपलब्ध गराउने उद्देश्यले उक्त सम्झौता गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार सहुलियत स्वास्थ्य सेवा लिनका लागि सेवाग्राहीले अनिवार्य वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने छ । अस्पतालमा उपलब्ध प्याथोलोजी तथा अन्य जाँचहरू र बेड शुल्क लगायतमा २० तथा फार्मेसीमा १० प्रतिशतसम्म छुट हुनेछ ।
ओपीडी, विशेषज्ञ परामर्श, आवश्यक परीक्षण तथा अस्पतालले तोकेका अन्य स्वास्थ्य सेवामा लागू हुने सहुलियत सम्बन्धित पक्षबीचको सहमति अनुसार हुने जनाइएको छ ।
यस्तै अति विपन्न तथा विशेष प्राथमिकतामा पर्ने सेवाग्राहीलाई वडा कार्यालयको सिफारिस र अस्पतालको आन्तरिक मूल्याङ्नका आधारमा निश्चित स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन सकिने सम्झौता पत्रमा उल्लेख छ ।
सम्झौता अवधि असोज १ वर्षको छ । २०८४ भदौ ३१ गतेसम्म सहुलियत स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएपनि दुवै पक्षको सहमतिमा नवीकरण गर्न सकिने उल्लेख गरिएको छ ।

संगालोखबर 

















