विराटनगर । मोरङ र झापा जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा शनिवार सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–३ झिलमिले पुल नजिकै दिउँसो करिव १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाइकल चालक झापाको अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको मृत्यु भएको ।
दुर्घटनामा गंभीर घाइते भएका मगरको बिर्तामोडस्थित बि.एण्ड.सी.अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ ।
त्यस्तै झापाकै शिवसताक्षी नगरपालिका–१ धरमपुरमा गएराती करिव पौने ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाइकल चालक शिवसताक्षी–११ का ३७ बर्षीय छबिरमन ढकालको मृत्यु भएको हो । दुर्घटनापश्चात उपचारका लागि ढकाललाई बि.एण्ड.सी.अस्पताल लगिएको थियो । उपचार कै क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
यता, दिउँसो करिव साँढे २ बजे मोरङको उर्लावारी नगरपालिका–८ मा को २० प ९७२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट स्थानीय दिपिका ओझाकी ७ बर्षीया छोरी अजितिको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएकी अजितिको गोदावरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।