काठमाडौं , १ फागुन। आइतबारबाट बाथ मुटु रोगको भल्भको शल्यक्रिया तथा औषधि निःशुल्क गरिएको छ ।गंगालाल हृदय रोग केन्द्रको वाषिर्कोत्सवको अवसरमा स्वास्थ्य मन्त्रालयले विपन्न नागरिकहरुको लागि बाथ मुटु रोगको भल्भको शल्यक्रिया र औषधि निःशुल्क गरेको हो ।

Advertisement

बाँसबारीस्थित गंगालाल अस्पताल, महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भल्भको निःशुल्क शल्यक्रिया हुनछे । शल्यक्रियाको लागि स्वास्थ्य मन्त्रालयले तीन अस्पताललाई करिब १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कसरी लिने सेवा

बाथ मुटु रोग लागेमा सामान्य उपचारदेखि मुटुको भल्भ फेर्नेसम्मको अवस्था आउन सक्छ ।

रोग समयमै पहिचान भएमा सामान्य उपचारबाट निको हुन्छ । यसको लागि गंगालाल हृदयरोग केन्द्रले पेनेसिलिन नामक औषधि (सुई तथा ट्याब्लेट) को निःशुल्क व्यवस्था गर्दै आएको छ ।

कतिपयको भने भल्भको मर्मत गर्नुपर्छ । अन्यथा बाथ मुटु रोगको संक्रमणका कारण मुटुको भल्भ नै फेर्नुपर्छ । त्यस्ता बिरामीले भल्भको शल्यक्रिया हुने तीन अस्पतालमध्ये कुनैमा सीधै सम्पर्क गर्न सक्नेछन् ।

त्यसको लागि बिरामीले आˆनो नाम, ठेगाना, आम्दानीको विवरणसहित नागरिकताको प्रमाणपत्र अस्पतालमा पेश गर्नुपर्नेछ । त्यस अन्तर्गत बिरामी विपन्न हो भन्ने विवरण सम्बन्धित गाविस/वडाबाट सिफारिश गरिएको हुनुपर्छ ।

यसका साथै सम्बन्धित रोगका चिकित्सकबाट उक्त व्यक्तिलाई बाथ रोग भएको तथा मुटुको भल्भ फेर्नुपर्ने भनेर उल्लेख गरिएको सिफारिश पनि आवश्यक पर्छ ।

ती विवरणको साथमा बिरामीले मुटुको भल्भ फेर्नुपरेको कारणसहितको निवेदन अस्पतालको सामाजिक सेवा इकाईमा पेश गर्नुपर्छ । सोेही निवेदनका आधारमा बिरामीको अवस्था हेरी अस्पतालले आवश्यक शल्यक्रिया र उपचार उपलब्ध गराउने गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्माले बताए । यस्तो सेवा कुनै पनि उमेर समूहका बिरामीले पाउनेछन् ।

त्यसको लागि गंगालाल अस्पतालमा सरकारले यस वर्षको लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अस्पतालले शल्यक्रिया र त्यस क्रममा लाग्ने औषधिको व्यवस्था सबै निःशुल्क गर्नेछ । तर, शल्यक्रियापछि लाग्ने औषधि भने बिरामी आफैंले किन्नुपर्नेछ ।

साथै कहिलेकाहीँ अस्पतालमा सम्बन्धित औषधि सकिएको अवस्थामा केही मात्रामा बिरामीले नै किन्नुपर्ने हुन सक्ने कार्यकारी निर्देशक डा. शर्माले बताए ।

के हो बाथ मुटु रोग

नेपालमा विपन्न नागरिकहरुमध्ये ९० प्रतिशत युवामा बाथ मुटु रोग देखिएको स्वास्थ्य मन्त्रालयको एक तथ्यांकले देखाएको छ । खानपान, बदलिँदो जीवनशैली लगायत कारणले यो रोग देखिने चिकित्सकहरु बताउँछन् । अनलाइन खवरमा समाचार छ ।

सामान्यतथा बाथ मुटु रोग ‘ग्रुप ए विटा हेमोलाइटिक स्ट्रेप्टोकोकस’ नामक ब्याक्टेरियाले घाँटीमा संक्रमण गरेपछि लाग्ने गर्छ । ज्वरो आउने, घाँटी दुख्ने, घाँटीमा संक्रमण हुने, घुडाँ लगायतका जोर्नी दुख्ने बाथ मुटु रोगका मुख्य लक्षण हुन् ।

यो रोग लागेमा हिँड्दा स्वाँस्वाँ आउने, मुटुको धड्कन बढ्ने, चाँडै थकाइ लाग्ने, मुटु हल्लिने लगायत समस्या देखिन्छ । यसबाट मुटुको भल्भ साँघुरो वा खुकुलो भई मुटुभित्रको रक्तप्रवाहमा बाधा पुग्छ ।

नेपालमा यो रोग खासगरी विपन्न समुदायका युवामा देखिने गरेको चिकित्सकहरु बताउँछन् । यो रोग ८/१० वर्षको बालबालिमा सुरु भई १८ वर्षको उमेरमा देखा पर्न सक्छ । बालबालिकादेखि २२ वर्षको युवा वर्गमा यो रोग अधिकतम रुपमा देखिने गर्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!