- माया उपाध्याय

बिहानैदेखि मन कताकता बहकिएको थियो । एक्लोपन, सधैं त बाबाको फोन आउने गर्थ्यो अब त्यो पनि हरायो । हुन त यस धर्तिमा पाईला टेक्न पाउनुलाई नै भाग्यमानी सम्झन्छु । जीवनमा आइपर्ने ती कठिनाइका बाबजुद पनि चुनौतिहरूको सामना गर्दै मानव भएर जन्मनुको अर्थलाई पुष्टि गर्न सक्नु पनि जीवनको एउटा महत्वपूर्ण पाटो जस्तै लाग्छ ।

Advertisement

सदा जस्तै यसपालीको दशैंले पनि बिदाईका हात हल्लाउँदै थियो । मन त अझै अमिलो नै थियो । साधारण जीवनशैली र शान्त वातावरणमा रमाउने म कुनै-कुनै बेला त आफूलाई बसमा राख्न पनि हम्मेहम्मे परेको महसुस गर्दथे । दिन ढल्कदै थियो आफ्नै पारामा । बेलुकीको काम सकेर सुत्ने प्रयास नगरेकी त होइन । तर, निद्रा पनि आफूले भनेको बेला फ्याट्ट आइदिने भए त दिमाग सधैं स्वस्थ्य नै रहन्थ्यो होला !

आँखाहरू यताउता नियाल्न थालिरहे । यत्तिकैमा फेसबुक खोलेर हेर्दै गए एक्कासि “१३ बर्ष देखि चरम यातना भोग्दै आएकी गीता’’ यस्तो शीर्षक देखे । नारीका पीडामा विशेष ध्यान जाने मेरा नजर त्यहीँ शीर्षकमा पुगेर टक्क रोकिए । खोले बिस्तारै नजरहरू दौडिन थाले । नजर फेरि यीनै शब्दमा गएर अड्किए –ससुरा, नन्द र आमाजुले बाँच्न नदिने भए बिवाह भएको बर्षदेखि कुटपिटको नेतृत्व सासुले गरिन् अहिले ससुरा पनि अगाडि बढेपछि गीतालाई कुनै पनि बेला मार्ने हुन् कि भय हुन थाल्यो ।

नजरले झनै रफ्तार लिँदै सँगै रहेको तस्बिरमा ठोक्किन पुगें । एक्कासि गगनबाट झरे जस्तो महसुस भयो । नयनले भ्रम त दिएनन् । केहीबेर घोरिएर हेरे । तिनै गीता जसका बारेमा बेलाबेला सुन्ने गरेकी थिए, तिनै गीता ओ यो हुन सक्दैन । पढ्दै जाँदा फेरि अर्को ठाँउमा रोक्किए मेरा नजरहरू !

मनमा एक प्रकारको छट्पटाहटले छायो, एकाएक पसिना र चिडचिडाहट छायो । उनलाई सम्पर्क कसरी गरौँ । अवाक बने दिमाग चलेन केहीबेर शरीर पनि शिथिल बन्यो । धेरै प्रकारका कुराहरूले मनमा डेरा जमाउन थाले । सबैतिर सम्पर्कको लागि कोसिस गरे । तर, उनीसँग सम्पर्क हुन सकेन । सम्पर्क हुनु पनि कसरी ! उनीसँग मोबाइल पनि साथमा नभएको कुरा जानकारी पाए ।

उनको मोबाइल पनि अरूकै कब्जामा रहेको खबरले मलाई झनै गाह्रो भयो । रातको १२ बज्न लागिसक्यो कसरी सम्पर्कमा ल्याउनी उनलाई । कताकता प्रयास गर्दागर्दै एउटा मोबाइल नम्बर मेरो हातमा पर्यो । फोन गरे ‘हेल्लो म माया मलाई चिन्यौ म काठमाडौंबाट ।’ ‘हजुर चिने’ उताबाट आवाज आयो । मैले सबै बुझ्ने प्रयास गरे ।

उनी विगत १३ वर्षदेखि बिवाह बन्धनमा बाँधिएको, माइती पाल्पाको माडी र घर देबदह, रुपन्देही जिल्ला, पिपरैया निबासी ३५ बर्षीया गीता अर्याल भट्टराईले बिवाह भएकै वर्षदेखि परिबारबाट चरम यातना भोग्दै आएको कुरा बताइन ।

बिवाह भएको बर्षदेखि दाइजो कम भएको बहानामा उनले यातना सहदै आएकी छन् । पहिले–पहिले श्रीमान, नन्द, आमाजुले कुटपिट गर्ने गर्थे भने पछिल्लो समयमा ससुरा हरिप्रसाद भट्टराई पनि सहभागी हुँदै आएको कुरा स्पष्ट रूपमा देख्न सकिन्छ ।रुपन्देहीको देबदह नगरपालिका शितलनगरमा बस्दै आएकी गीता परिबारबाट निकै कुटपिट हुन थालेपछि गत बर्षदेखि अर्को ठाँउमा रहेको घर जग्गामा गएर बस्न थालेकी थिइन् । उनी कामका अलवा ११ वर्षीय बच्चा (छोरी) को पनि रेखदेख गर्दै आएकी थिइन् ।

एक हप्ता अगाडि उनी बसेकै ठाँउमा पुगेर ससुरा हरिप्रसाद भट्टराई, नन्द अश्मिता र नमिता मिलेर शरीरभरि नील डामै–डाम हुने गरी कुटेपछि उनी प्रहरीको शरणमा पुगेकी थिइन् । पटक-पटक प्रहरी पनि गीताको घरमा मिलाउन नगएका होइनन् । यसपालि पनि उनलाई पहिला जस्तै मिलापत्र गराउन प्रहरीले बोलाएका पनि थिए । तर, बिगतमा धेरै पटक मिलापत्र गरेको र कुटपिट गर्ने छैन भनी प्रतिबद्धता गरेको भएपनि त्यो व्यवहारमा कार्यान्वयन नभएका कारण उनले यस पटक मिलापत्र गर्न भने मानिनन् ।

राष्ट्रिय बाणिज्य बैकबाट सेवानिवृत्त भएका र हाल सरस्वती सेकेण्डरी बोर्डिङ स्कुलका अध्यक्षसमेत रहेका हरि भट्टराई स्थानीय नेकपाका चल्तापुर्जा मान्छे पनि हुन् । उनी चल्तापुर्जा भएकै कारण गीताका श्रीमानले गरेको दोस्रो बिवाहलाई वडा कार्यालयले बिवाह दर्ता गर्ने काम पनि गरेको थियो । वडा कार्यालयले बहुबिवाहलाई मान्यता दिएपछि गीताले न्याय खोज्न कानूनी बाटो अबलम्वन गरी बहुबिवाह र अंश मुद्धाको प्रक्रिया अगाडि बढाइन् ।

अंश मुद्दाको टुंगो नलागेसम्मका लागि जति पनि जग्गा जमीन छ त्यो बेचबिखनको काम रोकियो । जब बेचबिखन रोकियो त्यसपछि ससुरा र उनको परिवार क्रुर हुदै आएको गीताले बताएकी छन् । एक हप्ता अगाडि परिवारको कुटपिटबाट जोगिन उनी टाढाको एक्लो घरमा छोरीसँग बस्दै आएकी थिइन् । त्यहीँ घरमा आएर ससुरा लगायत घरका अन्य सदस्यहरूले अष्टमीका दिन चरम रुपमा कुटपिट गरेको कुरा उनले बताएकी छन् ।

उनको शरीरमा रहेका निलडामले पनि यो कुरालाई प्रमाणित गरेका छन् । खेतीको निहुमा पुगेका ससुरा, नन्द अश्मिता, आमाजु नमिताले ढाड, दुबैे खुट्टादेखि माथिसम्म, दुबै हात, मुख, टाउको जहाँ जहाँ हुन्छ एक साथ कुटपिट गरेका कारण अहिले शरीर चलाउनसम्म गाह्रो परेको कुरा गीताले बताएकी छन् । उनलाई यसरी कुटपिट गरी ११ बर्षिया छोरीलाई पनि जबर्जस्ती उनीहरुले लिएर गएको कुरा पनि गीताले बताईन् ।

हो, तिनै गीता उनको निलडामसहितको फोटो देख्नासाथ मेरा नजर वरिपरि पहिलादेखि तिनले पाएका यातनाहरू मेरो मानसपटलमा यादगर बनेर बसेका थिए । मनमा एक किसिमको छट्पटी नै हुन थाल्यो र मलाई धेरै गाह्रो भयो । आवाज सुनेपछि आफूलाई मोबाइल नदिएको छोरी पनि उनी नभएको गाउँमा एक्लो घरमा एक्लै बसेको कुराले मलाई झनै पिरोल्न थाल्यो । सम्झाए यसरी एक्लै नसुत तिमीलाई राती आएर कसैले मार्न सक्छन् ।

कुनै छिमेकीको घरमा आश्रय लिएर बस कि कसैलाई साथी बोलाऊ भन्दै सम्झाए । विचरा बिवाह भएदेखि दाइजोको नाममा चरम यातना भोग्दै आएकी श्रीमानको माया पाउनु घर परिवारको माया पाउनु त कहाँ हो कहाँ । श्रीमानको मायाको आस कुन नारीलाई हुँदैन, घर परिवारको माया पाउने आस कुन नारीलाई हुँदैन, सन्तानको माया कुन नारीलाई हुँदैन । श्रीमान लगायत घरका सम्पूर्ण परिवारको थिचोमिचो, मानसिक र शारीरिक यातना भोग्दै आफ्नो माइतीको इज्जत बचाउन त्यहीँ घरको यातना सहदै संघर्ष गर्दै थिइन् ।

दैवको खेल नौ महिना अगाडि श्रीमान गुमाएर अर्को चपेटामा परिन् । यातनाले झन बढ्दो गति लिँदै गयो । मृत्युसँगै क्रिया गर्ने बेलामा छोरो र गर्भमा बच्चासहितकी सौता उपहार पाईन् । कस्तो भयो होला त्यो क्षण । जो जेठी आमाजुले काम गर्ने मान्छे हो भनेर विगत केही वर्ष अघिदेखि राख्दै आउनु भएको रहेछ । तर, कुरा यस्तो हुन आयो । नेपालमा बहुबिबाह गर्न पाईँदैन भन्ने कानूनले पनि फेल खायो यतिबेला ।

एउटी श्रीमति हुँदाहुँदै कसरी गरियो अर्को बिवाह दर्ता, कस्ले गर्यो यो बिवाह दर्ता के अब यिनीहरूलाई सजाय हुनुपर्छ कि पर्दैन होला ! यदि पर्छ भने को–कस्लाई कस्तो खालको सजाय हुनुपर्छ । अझै नारीले कहिलेसम्म यी र यस्तै अन्यायहरू सहन पर्ने हो, दाइजोको बहानामा कतिले ज्यान गुमाउन पर्ने हो, कतिले यातना भोग्नु पर्ने हो ?

मलाई यतिबेला हेटौंडाको घटनाले झस्कायो श्रीमानको मृत्यु पछि ससुरा र नन्दहरूको आक्रमणबाट मारिएकी तिनै चेलीको याद आयो । सम्झदा पनि आङ्ग जिरिङ्ग भएर आयो । कसोकसो बाँच्न सफल भइछन् गीता । हो अब बचाउँनु पर्छ गीतालाई यिनले १३ वर्षसम्म सहेका ती यातनालाई त म शब्दमा बयान गर्न सक्दिनँ । यति भन्न चाहान्छु ।

गीता उनै पात्र हुन् जसले यो पीडा १३ बर्षदेखि भोग्दै आएकी छन् । यो वास्तविक घटना भएको जानकारी यहाँहरूलाई गराउन चाहे । साँच्चै नारीको जीवन कति दयनीय छ अझै पनि ! बुटवल जस्तो सुगम ठाँउमा एउटा डिग्री गरेको नारीमाथिको अत्याचार यो त एउटा उदाहरण मात्रै हो भित्र–भित्रै नारीहरू घरेलु हिंसाको चपेटामा छन् ।

कहिले माइतीको इज्जत जोगाउनको लागि सहनुपर्छ, कहिले श्रीमानको खुसीको लागि त कहिले बच्चाको मायाले गर्दा विभिन्न किसिमका यातना सहदै पिल्सिएर बाँच्नु पर्छ । कहिले आफन्तबाटै बलात्कारको शिकार हुनुपर्छ त कहिले बलात्कारको शिकार भइ ज्यान गुमाउनु पर्छ, कहिले एसिडको चपेटा, कहिले दाहिजोको बहानामा जलाएर मारिन्छन् त कहिले सन्तानको हातबाट मारिनु पर्छ । धिक्कार लाग्छ न त घरभित्र सुरक्षित छ न बाहिर ! कस्तो बिडम्बना सृष्टिको सृजना गर्ने नारीको महत्व कहिले बुझ्छन् यस्ता नरपिचासहरूले । कहिले आउँछ सद्बुद्धि ?

मान्छे मरिसकेपछि आँसु देखाउने काम बन्द गरौं । जिउँदो हुँदा उसको दुखमा आँसु पुछ्ने र समस्याबाट माथि उठाउँदै पीडितलाई आवश्यक सहयोग गरौँ । पापीहरूलाई निष्पक्ष रूपमा कडा भन्दा कडा कारबाहीको दायरामा ल्याऔं ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!