उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित फत्तेपुरबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । लागुऔषधसहित पक्राउ पर्नेमा त्रियुगा–१२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन बिश्वकर्मा, सागर पौडेल, २२ बर्षीय शिब अधिकारी, बिशाल मगर र २४ बर्षीय दिलिप घिमिरे छन् ।
बिशेष सुराकीका आधारमा आज बिहान साढे ७ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाइ फत्तेपुरबाट नियन्त्रणमा लिएको हो । नियन्त्रण पश्चात चेकजाँच गर्दा उनीहरुको साथबाट फेनारगन ३५ एम्पुल, डाईजोपाम ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीहरुले प्रयोग गर्ने स.१ प ३२२४ नम्बरको मोटरसाईकलसमेत बरामद गरिएको छ ।
त्यस्तै आज विहान १० बजे जिल्ला प्रहरी कार्यालयको टोलीले त्रियुगा–६ लालपत्ताबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी कृष्ण सबरमका ३१ बर्षीय प्रबेश मिया र २६ बर्षीया हजारुम खातुन छन् ।
उनीहरु श्रीमान–श्रीमती हुन् । प्रहरीले उनीहरुको साथबाट फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका आठै जनाविरुद्ध थप अनुसन्धान गरी कानुनी कारबाही अघि बढाईएको प्रहरीले जनाएको छ ।