- संगालोखबर सम्बाददाता

धनकुटा । १५ महिना अघिदेखि ओछ्यान परेका धनकुटाका बोधराज ढुंगानालाई आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । मेरुदण्डमा पलाएको ट्यूमर र नसा च्यापिने समस्याको अप्रेशन गराउँदा पनि सुधार नभई ओछ्यान परेका ढुंगानालाई सहयोग गर्नेको संख्या बढ्दै गएको हो ।

चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका ४० बर्षीय ढुंगाना अहिले धनकुटाको मदनचौकमा कोठा भाडामा बस्दै आएका छन् । जिल्ला अस्पतालमा सुरक्षागार्ड बसेर श्रीमतिसहित दुई छोरा–छोरी पाल्दै आएका ढुंगाना १५ महिना अघिदेखि ओछ्यान परेका छन् । उठ्न नसक्दा ओछ्यानमै दिसा पिसाब गर्नुपर्ने बाध्यता छ । परिवारको मुख्य व्यक्ति नै ओछ्यान पर्नाले आम्दानीको स्रोत केही नहुँदा ढुंगाना परिवारको बिचल्ली भएको छ । आर्थिक अभावले थप उपचार गर्न नसकेको र परिवारको बिचल्ली भएको बिषयमा संगालोखबरले समाचारसहित भिडियो रिपोर्ट सार्वजनिक गरेको थियो । ढुंगानालाई सहयोगका लागि मनकारी व्यक्तिहरुले सहयोग संकलन अभियान नै चलाएका छन् ।

सहयोग संकलन अभियानमार्फत तथा स्वतस्फूर्त रुपमा पनि सहयोग जुट्ने क्रम बढ्दै गएको बिरामी ढुंगानाकी श्रीमति बिनिताले जानकारी दिईन् । ‘अहिलेसम्म २ लाख ५० हजार भन्दा बढी रकम प्राप्त भईसकेको छ ।’ बिनिताले भनिन्–‘अझै पनि सहयोग आउँने क्रम जारी छ ।’ स्वदेश तथा बिदेशमा रहेका झण्डै एक सय व्यक्तिले ढुंगानालाई आर्थिक सहयोग गरेका छन् । अझै पनि सहयोग प्रदान गर्ने क्रम चलिरहेको छ ।

एकैदिन जुट्यो डेढ लाख सहयोग

ढुंगानालाई शनिवार एकैदिन डेढ लाख भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । सहयोग संकलन अभियानबाट संकलित तथा स्वतस्फूर्त रुपमा पनि केही व्यक्तिहरुले रकम प्रदान गरेका हुन् । झापा निवासी निर्मला सुवेदी खनालको अगुवाईमा विदेशमा रहेका नेपालीहरुबाट संकलन गरिएको १ लाख ३३ हजार रकम ढुंगानालाई हस्तान्तरण गरिएको छ । संकलित एकमुष्ट रकम धरान निवासी विवेक लिम्बुले बिरामी ढुंगानालाई हस्तान्तरण गरेका हुन् ।

यता, धनकुटा बजारबासीको तर्फबाट संकलन गरिएको १४ हजार रकम पनि हस्तान्तरण गरिएको छ । बजारबासी निराजन कार्कीले सो रकम हस्तान्तरण गरे । त्यस्तै, महिला शिक्षक समाज धनकुटाले पनि १० हजार आर्थिक सहयोग प्रदान गरेको छ । शिक्षकहरुबाट संकलित रकम अध्यक्ष सोभा दाहाल बरालले बिरामी ढुंगानालाई हस्तान्तरण गरेकी छन् । संगालोखबरबाट बिरामीको पीडादायी भिडियोसहितको समाचार सार्वजनिक भएपछि सहकर्मीहरुबाट सहयोग संकलन गरी हस्तान्तरण गरिएको महिला शिक्षक समाजका अध्यक्ष दाहालले जानकारी दिईन् ।

यसअघि पनि ढुंगानालाई करिब १ लाख रकम सहयोग स्वरुप प्राप्त भईसकेको परिवार स्रोतले जनाएको छ । कतिपयले कोठामै आएर बिरामीलाई रकम हस्तान्तरण गर्ने गरेका छन् भने कतिपयले बैंक खातामा पनि रकम जम्मा गर्ने गरेका छन् । एउटै व्यक्तिले न्यूनतम ५ सयदेखि १० हजारसम्म सहयोग प्रदान गरेका छन् । धनकुटाबासी तथा विदेशमा रहेका धनकुटेलीले बिरामी ढुंगानालाई सहयोगका लागि आर्थिक सहयोग अभियान चलाईरहेका छन् ।

यसअघि प्रकाशित समाचार…

डेढ बर्षदेखि ओछ्यानमै दिसा पिसाव, पैसा नहुँदा भएन उपचार

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!