संगालोखबर सम्बाददाता

धनकुटा । ४० बर्षको जल्दोबल्दो उमेर । परिवार र छोराछोरीको उज्वल भविष्यका लागि आधार निर्माण गरिदिने बेला । हो, यस्तै बेला धनकुटाका बोधराज ढुंगानाको जिन्दगीमा ‘ब्रेक’ लागेको छ । चौबिसे गाउँपालिका–३ कुरुलेतेनुपाका ढुंगाना अहिले धनकुटा बजारको एउटा कोठामा कहालिलाग्दो जीवन बिताउँन बाध्य छन् । दुबै खुट्टा भएर पनि उनी १५ महिना अघिदेखि ओछ्यानबाट उत्रन सकेका छैनन् । ढोका खुल्ला भएर पनि उनलाई त्यही कोठा बन्द पिंजडा सरह भएको छ ।

Advertisement

सन्तानको उज्वल भविष्यको सपना बोकेर पैसा कमाउँन दुवहीसमेत पुगेका उनी अहिले दुबै खुट्टा नचलेर ओछ्यान पर्दा सपना हराएको महसुस गर्छन । उनी आफ्नै जिन्दगी घाँडो भएको महसुस गरिरहेका छन् । ‘आफुले दुःख गरेर भएपनि परिवारलाई सुख दिने प्रयत्न गरिरहेको थिए ।’ गहभरी आँसु पार्दै ढुंगाना भन्छन्–‘परिवार र सन्तानलाई सुख दिन त सकिन । जल्दोबल्दो उमेरमै थला परेर ओछ्यानमै दिसा पिसाव हुँदा अहिले परिवारकै लागि भार भएको छु ।’

ढुंगानालाई करिब ७ बर्ष अघिदेखि कम्मर र देब्रे खुट्टा दुख्ने समस्या सुरु भएको थियो । त्यसपछि डाक्टरलाई देखाएर औषधि खाए । तर, निको भएन । समस्या बढ्दै गएर देब्रे खुट्टा छोटो भए जसरी टेकाई नै तलमाथि हुन थाल्यो । पीडा झन्–झन् बढ्दै गएपछि उपचारका लागि बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुगेका उनलाई डाक्टरले मेरुदण्डमा ट्यूमर पलाएको र नसा च्यापिएर समस्या जटिल बनेको भन्दै तत्काल अप्रेशन गर्न सुझाव दिए । सामान्य परिवारका उनीसँग अप्रेशन गर्ने पैसा थिएन । उपचार पश्चात निको हुँने आसमा दाजुभाई तथा आफन्तको सहयोग र ऋण खोजेर अप्रेशन गरियो ।

ढुंगानाका अनुसार अप्रेशन पश्चात कम्मर मुनीको कुनै पनि अंगमा छोएको थाहा भएन । अहिले कुर्कुचा भन्दा माथि छोएको थाहा हुन्छ तर, पैतालाले पत्तो पाउँदैन । खुट्टा जेनतेन हल्लिए पनि अप्रेशन पश्चात अहिलेसम्म खुट्टा टेकेर उभिन सकेका छैनन् । ढाडले पनि राम्रोसँग काम गर्दैन । दिसा पिसाव आएको पत्तो हुदैन । १५ महिना यता ओछ्यान परेका उनलाई सुतेको ठाउँबाट बसाउन र बसेपछि सुताउँन पनि अर्कैको सहारा चाहिन्छ । ओछ्यानमै दिसा पिसाव गर्नुपर्ने बाध्यता छ ।

मदनचौक नजिक कोठा भाडामा बस्दै आएका ढुंगानाको परिवारमा श्रीमतीसहित ८ बर्षे छोरा र अढाई बर्षीया छोरी छन् । अप्रेशन अघि ढुंगानाले जिल्ला अस्पतालमा सुरक्षागार्ड बसेर परिवार पाल्दै आएका थिए । परिवारमुली नै थला पर्नाले आम्दानीको स्रोत केही नहुँदा अहिले दुई छाक टार्न मुस्किल परिरहेको ढुंगानाकी श्रीमती बिनिताले दुखेसो सुनाईन् । ‘उहाँले थाहै नपाई दिसा पिसाव जान्छ । अर्कैले उठाउँने, सुताउँन गर्नुपर्छ । बिरामी र छोराछोरीलाई स्यहारसुसार गर्दै भ्याईनभ्याई हुनाले म काम गर्न जान भ्याउँदिन ।’ पीडा सुनाउँदै उनले भनिन्–‘पैसा नहुँदा अप्रेशनपछि नियमित थेरापी गराउँन पनि सकिएन । औषधि किनेर खानसमेत मुस्किल छ । बोडिङमा पढ्दै गरेको छोरालाई पढाउँन नसकेर सरकारीमा सार्न लागेका छौं ।’

कतैबाट सहयोग जुटेमा नियमित थेरापी गराउँने र राम्रो अस्पतालमा थप उपचार गराउँने उनीहरुको सोचाई छ । जल्दोबल्दो उमेरमै थला परेका ढुंगानाले उपचारमा सहयोग गरेर आफ्नो ज्यान बचाईदिन र परिवारलाई बिचल्ली हुनबाट जोगाउँन सबैलाई अपिल गरेका छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!