- धनराज पोख्रेल

प्रत्येक देशको विकासमा सूचना र सञ्चार प्रविधिको प्रयोग तथा विस्तार अत्यावश्यक मानिन्छ । विज्ञानका विविध विषयले उल्लेखनीय विकास गरिसकेको वर्तमान समयमा कुनैपनि देशको आर्थिक विकासका लागि होस् वा सामाजिक परिवर्तनका लागि सूचना प्रविधि महत्वपूर्ण मानिन्छ, किनभने मानव जीवनका आर्थिक, सामाजिक, राजनीतिक लगायत सबै क्रियाकलापलाई ज्ञानमा आधारित बनाउँदै सम्पूर्ण समाजलाई नै ज्ञानवान बनाउने क्रान्तिको थालनी सूचना प्रविधि हो । यसले मानिसको एउटै पुस्तामा पनि संस्कृति, चालचलन, चिन्तन र आर्थिक तथा सामाजिक व्यवहारमा पत्याउनै नसकिने परिवर्तन ल्याउन सक्छ ।

मानव विकासको इतिहासलाई केलाउँदा समग्रमा के देखिन्छ भने, मानिसले जंगली अवस्था पार गरेपछि कृषि युगमा प्रवेश गर्याे । कृषि युग हजारौँ वषसम्म चल्यो । झण्डै पाँच सय वर्षअघि औद्योगिक युग सुरु भयो । औद्योगिक युगमा ज्ञान संकलन र प्रसारणमा अभूतपूर्व विकास भएको फलस्वरूप मानव सभ्यताको विकासले ठूलो फड्को मार्याे र झण्डै पचास वर्षअघि कम्प्युटरको विकासको सँगसँगै सूचना युगको प्रारम्भ भयो ।

मानव जीवनमा सूचना र संचारका प्रविधिले सर्वव्यापी भूमिका खेल्न थालेको र मानिसको आर्थिक, सामाजिक, सांस्कृतिक लगायत सबै पक्षमा यसले परिवर्तन ल्याउन थालेको हुनाले सूचना प्रविधिको यो युगान्तकारी विकासलाई सूचना क्रान्ति भनिएको हो । तसर्थ अब यो क्रान्ति ग्रामीण क्षेत्रमा आवश्यक छ, किनकी विकासशील देशमा ८० प्रतिशतभन्दा धेरै मानिस गाउँमा बस्छन् । शहरको तुलनामा गाउँमा खानेपानी, शिक्षा र स्वास्थ्य, सरसफाइ, सुरक्षा, पोषण र खाद्यान्नजस्ता आधारभूत आवश्यकताहरूको प्रायः कमी हुन्छ । सुविधाको खोजीमा मानिसहरू गाउँबाट शहरतिर ओइरिन्छन् । गाउँ रित्तिँदा एकातिर शहरको अवस्था बिग्रन्छ अर्कोतिर कृषि, बन, जलस्रोत लगायतका प्राकृतिक स्रोत र साधनको उचित उपयोग र संरक्षण हुन सक्दैन । साथै परम्परागत ज्ञान, प्रविधि र सीप, संस्कृति, भाषा तथा महत्वपूर्ण मानव संसाधनको विस्थापन र लोप पनि हुन जान्छ ।

समस्याको यो श्रृंखलालाई कम गर्न कृषि उत्पादन बढाउन सूचना प्रविधिले सघाउन सक्छ, भने कृषिका लागि आवश्यक सामग्री, कृषि बजार, तथा आधारभूत आवश्यकता पूरा गर्न सघाउने सूचना र ज्ञान सजिलो, सस्तो र प्रभावकारी रूपमा सूचना तथा संचार प्रविधिले गाउँमा विपन्न समुदाय र गाउँको सामु व्यापक अवसरहरू प्रदान गर्न सक्छ । सरकारको दक्षता, व्यापारीहरूको दुर्गम तथा ग्रामीण क्षेत्रमा बस्ने विपन्न समुदायहरूलाई विकास र अर्थतन्त्रको मूलधारमा ल्याउन मदत गर्दछ, भने सूचना सञ्चार प्रविधिले अन्य निम्न कुरामा फाइदा हुने गर्दछ :

निर्णय प्रक्रिया: गाउँमा बाटो कुलो बनाउने, स्थानीय सरकार चुन्नेदेखि लिएर संसदमा प्रतिनिधि रोज्नका लागि समेत सही, उपयोगी, सान्दर्भिक र ताजा सूचनाको आवश्यकता हुन्छ । त्यस्तै गाउँलेको जीवनका आर्थिक सामाजिक पक्ष र भविष्यलाई प्रभावित पार्ने कतिपय योजना, आयोजना र निर्णयहरू गाउँलेहरूले नै लिनुपर्ने हुन्छ । सूचना प्रविधिले छिटो र सजिलोसँग सर्वांगपूर्ण, समसामयिक र खोजेको सूचना र ज्ञान उपलब्ध गराएर गाउँलेहरूलाई सही र ठोस निर्णय गर्न सघाउँछ ।

बजारको जानकारी: किसानहरूले आफ्नो उत्पादनको बजार खोज्न, प्रदर्शन गर्न र राम्रो मोल पाउन पत्रपत्रिका, फ्याक्स र टेलिफोनभन्दा सूचना प्रविधि बढी उपयोगी हुन्छ । गाउँका कालिगढहरूले पनि स्थानीय उत्पादनको विश्व बजार पाउन सक्छन् ।

गाउँले जनताको सशक्तीकरण: गाउँलेहरूको आवाज, विचार, भावना व्यक्त गर्ने अवसर दिएर गाउँलेहरूलाई आत्मविश्वास, आत्मसम्मान दिन्छ र बलियो बनाउँछ । फलस्वरूप विकास प्रक्रियामा सघाऊ पुग्छ । गाउँलेहरू बोल्न थालेपछि स्थानीय निकायदेखि नीति निर्णय तहसम्म प्रभाव पर्छ, सुशासन बढ्ने र प्रजातन्त्र बलियो हुने सम्भावना बढ्छ ।

सुविधाविहीन र पाखा परेका समुदायलाई लाभ: सुविधाविहीन वर्ग, खास गरी बालबालिका, महिला, अपांग, दलितहरूको लागि काम गर्ने संस्थाहरू, विकास, प्रजातन्त्र र मानव अधिकारको लागि लडिरहेका संघ संस्थाहरूमार्फत उनीहरूले अप्रत्यक्ष रूपले फाइदा पाउँछन् ।

रोजगारीको अवसर: गाउँमा टेलिसेन्टर वा त्यस्तै खालको सूचना केन्द्र भयो भने तिनले गाउँलेहरूलाई शिक्षा र रोजगारी लगायत विविध अवसर, सेवा र सामानको सूचना दिन्छन् । गाउँका युवाहरूले रोजगारी पाउने अवसर बढ्छ । केन्द्र आफैले पनि सीपमूलक तालिमहरू संचालन गरेर स्वरोजगारको अवसर सिर्जना गर्नसक्छ ।

स्वास्थ्य सम्बन्धी जानकारी: स्वास्थ्य सम्बन्धी विविध उपयोगी कुराहरु खोजेर पढ्न बुझ्न र आफूमा लागू गर्न । अहिलेको परिवेशमा भन्नु पर्दा कोरोना भाइरसले विश्वभर महामारीको रुप लिईरहेका बेला गाउँमा बस्ने मानिसहरूले सूचना संचार प्रविधिको प्रयोगबाट यो रोगका लक्षणहरू, रोगबाट बच्ने उपायहरु र यो रोगको फैलावटको बारे घरमै बसेर जान्न बुझ्न र सचेत हुन सक्छन ।

गाउँका विद्यार्थीहरूका लागि: ग्रामीण क्षेत्रका विद्यार्थी भौगोलिक विकटताका कारण विद्यालय जान असहज हुने कतिपय ठाउँहरूमा गाँउ घरमै बसेर इन्टरनेटको माध्यमबाट ज्ञानगुनका कुराहरू खोजेर पढ्नुको साथै इन्टरनेटमा जोडिएर भर्चुवल माध्यमबाट अध्ययन गर्न सक्छन्, जसले गर्दा गाउँमा बस्ने विद्यार्थी धेरै विषयमा प्रविधिको प्रयोग गरेर जानकार हुन सक्छन् ।

यसरी समग्रमा हेर्दा गाउँको जनस्तर उकास्न सूचना तथा संचार प्रविधि एक अब्बल साधन हो तसर्थ ग्रामीण क्षेत्रका सबै ठाउँमा इन्टरनेट विस्तार अपरिहार्य छ ।

(लेखकः त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभाग अन्तर्गत मानविकी संकाय प्रथम सेमेस्टर अर्थशास्त्र विषयका विद्यार्थी हुन् ।)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसबुक पेज लाइक गर्नुहोस्
Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!