- दिवेश खड्का

फेसबुकमा रिक्वेस्ट आयो । 
केटीको नामबाट आएपछि स्वभावैले मैले प्रोफाइल खोलेर हेरे । पढे लेखेको सुझ–बुझ राम्रो भएको जस्तो लाग्यो ।
पोष्टहरु निकै गम्भिर र व्यवहारीक थिए ।
एउटा राम्रो बुझाई भएको समझदार केटीको जस्तो । रिलेशनमा छ कि भनेर त्यो पनि चेक गरे । केही उल्लेख थिएन । म्युचल फ्रेण्डमा चाहि २४ जना जति थिए । केटी न हो भनेर एक्सेप्ट पनि गरी हाले ।

“रोमानिया” भन्ने देशको दृश्यहरु पनि देख्न पाइयो । उनी त्यहाँ काम गर्दिरहिछन् । अगाडी कही नदेखेको मान्छे खै किन मलाई रिक्वेस्ट पठाइन बुझ्न सकिन । सायद उनले मलाई चिन्थिन की ! आ जे होस् सामाजिक सञ्जालले पूर्व मेचिदेखि महाकाली जोडेको छ, के फरक पर्ला र ! उसो त मेरै लिस्टमा ५००/६०० नचिन्ने छन् । एउटा थपिए के भयो र ?
विस्तारै हामी एक अर्काको पोष्ट, फोटोहरुमा लाईक गर्न थाल्यौ । यो क्रम जारी रह्यो ।

नयाँ वर्ष, तथा कुनै विशेष अवसरमा आउने म्यासेजहरु पनि फरवार्ड हुन थाल्यो । अनि रिप्लाई कहिले म “थ्याङ्क यू ” भन्दै गर्थे त कहिले मैले पठाएको पोष्टमा उनले गर्थिन ।
यसरी नै फेसबुकको संसार चल्दै गयो ।
जतिजति उनको प्रोेफाइल चेक गर्दै गए उनी मलाई एक तमासले मन पर्दै गइन् । एकदिन मलाई उनको ठेगाना बारे, उनले मलार्ई चिन्छिन् या चिन्दिनन् जान्न मन लाग्यो । अनि, म्यासेज सेण्ड गर्ने विचार गरे ।
“हेलो !” लेखेर पोष्ट गरेको तुरुन्तै जवाफ आयो “हाई” ।
मानौं उनी मैले कहिले म्यासेज पठाउँछु र रिप्लाई गरौं भनेर बसेकी थिइन् ।
फेसबुकमा चिनजान भएको झण्डैै छ महिना पछि हाम्रो सम्बाद थियो यो पहिलो ।
मैले सोधे, ”तपाई मलाई चिन्नुहुन्छ ?”
”अँ चिन्छु, किन नचिन्नु ?” उनले भनिन्, “तपाईको घर सिँधुवा धनकुटा हैन ?”
म छक्क परे ।
“कसरी चिन्नुभयो?“
उनले सहजताका साथ लेखिन, “फेसबुकबाट” अनि फेरी मुनि टाइप गरिन ”हाँ हाँ …….”
उनी भन्दै गइन्, “तपाईको पोष्टहरु साह्रै मन पर्छ, मेरो पनि घर तपाईको नजिक नजिकै हो । मेरो क्युरीयोसिटीको लेभल बढ्दै गयो ।
मैले जान्न चाहे, “कहाँ हो?
– “तेह्रथुम”
“ए ए, अनि तेह्रथुम कुन ठाउँ नि ?”
– ”शुक्रबारे“
“ए नजिकै रै,छ, मलाई कतै देख्या हो पहिले ?”
– “धेरै पटक !”
हाम्रो फेसबुकमा घण्टौ म्यासेज चलिरह्यो । फेसबुकको फोटोहरु अनि सम्वाद हेर्दा उनी एक समझदार २७/२८ उमेरको जस्तो लाग्यो । हाम्रो इण्डलेस टल्क घन्टौ जान्थ्यो । “अनि …..अनि …..” भन्दै कैयौं रात कटाइयो । लाग्थ्यो हामी एक अर्कालाई चाहन्छौं । कुरैकुरामा मैले उनलाई प्रस्ताव गरे –
“नेपाल आउँदा तिमीसँग बसेर गफ गर्ने, घुम्ने इच्छा छ । तिमी के भन्छौं ?”
“स्योर ! ह्वाइ नट ?” उनले रिप्लाई दिइन ।
मैले थपे, “कुन ठाउँ, एनि आइडिया ?”
उनल भनिन् – “धनकुटा, धरान, पोखरा, काठमाडौं …..जहाँ तिमीलाई सहज हुन्छ । ”
हाम्रो सम्बोधन पनि तपाईबाट क्रमश तिमीमा आइसकेको थियो । अनि हामी च्याटमा पनि धेरै ओपन हुँदै गयौं । लाग्थ्यो उनी मेरो बाल्यकालकी सखी हुन् । उनमा छलकपट केही थिएन । थियो त निश्कलङ्कता, सहजता अनि आत्मियता ।
प्राय उनी नेपालको १० बजेपछि च्याटमा आउने भएकोले मलाई नि सहज थियो । उनको च्याटबाटै सबै खुलस्त हुन्थ्यो । मैले उनको प्रेम सम्बन्धमा बारेमा कहिले जान्ने कोशिस गरिन । मलाई लाग्थ्यो मैले उनको प्रेमका बारेमा सोधे भने आफ्नै उनीप्रतिको प्रेमको अवमूल्यन हुन्थ्यो ।
मलाई थाहा छैन उनी म प्रति कति आकर्षित छन् भन्ने । उनको शब्दले मात्र अनुभुत गराउथ्यो हामी एक अर्कालाई चाहन्छौं भन्ने ।
उनको फोटोमा आएको कमेन्ट, रियाक्ट प्राय म सबै हेर्थे । मलाई कहीँबाट नि आभाष हुन्न थ्यो की उनी कसैसँग रिलेशनसिपमा छिन् भन्ने ।

यता घरमा मेरो विहेका लागि केटी खोज्न धुमचक्करले घरपरिवार लाग्नुभएको थियो । आफन्त र चिनेका सबैलाई मलाई केटी खोज्न लाउनु हुन्थ्यो । अचेल त धेरै सजिलो कसैले कुनै केटीको प्रस्वात गरे पनि फेसबुकबाट सहजै थाहा पाउने । कहिले काँही प्रस्ताव यस्तो केटीको आउथ्यो कुनै एङ्गलबाट पनि नराम्रो नदेख्ने ।
म उनलाई त्यस्तो केटीको लिन्क पठाइदिन्थे कोड गरेर “एक नयाँ प्रस्ताव” ।
“वाउ, गो अहेड !“ उनको रिप्लाई आउथ्यो ।
कति सहज उनले प्रतिक्रिया पठाउथिन् र भन्थिन् जोडी राम्रो जम्छ ।
मलाई अचम्म लाग्थ्यो । कति सहज उनी जवाफ दिदैछिन् । उनलाई के थाहा म उनलाई अथाह चाहन्छु । अथवा, उनी कतै मलाई बुझ्न त खोजिरहेका छैनन् । अनि अलि पछि उनको इन्क्वायरीसहितको म्यासेज आउथ्यो – “हेलो, के हुँदैछ ? केटी त राम्रो लाग्यो, नछोड हैं ।” म बिलखबन्दमा पर्थे । अनि भन्थे, “मैले क्यान्सेल गरे ।”

उनी निराश तालमा लेख्थिन, “तिमीलाई कुनै केटी ठीक लाग्दैन । बेलैमा घर जम गरेनै भने पछुताउछौं ।”
मेरो घरमा आफन्त तथा चिनजानकाबाट प्रस्ताव आउने क्रम रोकिएको थिएन । अनि उनलाई आउने बित्तिकै त्यो फोटो अनि लिन्क पठाउने क्रम पनि रोकिएन । उनी मलाई सुझाव दि’रहन्थिन । उनलाई सायद थाहा थिएन यदी म कोही मन पराउँछु त सिर्फ उनी ।
उनीसँग बोल्ने त ह्याबिट जस्तो भैसकेको थियो । कुनैदिन म्यासेज नआँउदा वा नेट नहुँदा हुन्थ्यो– केवल छटपटी । म उनीप्रति वास्तवमै एडिक्ट भै सकेको थिए । उनीप्रतिको साइबर प्रेम भनौं ।
एकदिन उनले म्यासेज गरेर अर्को महिना नेपाल आउने जानकारी गराइन् । मेरो हृदय पनि खुसीले गद्गद् भयो । मैले वास्तवमा उनलाई भेटेरै, कुनै पार्कमा बसेर उनको अँगालोमा बेरीएर प्रेम प्रस्ताव राख्ने सोचेको थिए । हाम्रौ घण्टौको वार्तालाई बिट मार्ने बेला भएको जस्तो लाग्यो ।
उनी लेख्दै गइन – “मलाई रिसिभ गर्न तिमी आउँछौं नि ?“
–“यो ज्यान तिम्रो लागि हाजिर छ ।”
“म जुलाई २७ मा आउँदैछु ।”
–“अरे वा मेरो बर्थ डे के एक दिन अघि । ”
“ह्वाट अ कोइन्सिडेन्ट !” उनले आश्चर्य मिश्रित भावमा जवाफ दिइन् ।

म आउने कुराको डिक्लिएर गरेर म अब जुलाई २७ को प्रतिक्षामा बस्न थाले । मलाई घण्टा बितेको दिन जस्तो र दिन महिनौं जस्तो लाग्न थाल्यो । म उनलाई भेट्न आतुर थिए । हाम्रो साइबरबाट झाङ्गिएको प्रेमको साइत म पर्खिरहे ।
काठमाडौं जान एउटा राम्रो बहाना थियो मेरो लागि । म काम गर्ने सस्थाको काठमाडौंमा केन्दीय सम्मेलन थियो । मलाई सहज थियो । मैले घरमा यो बारेमा कसैलाई भनेको थिइन । म सरप्राइज दिन चाहन्थे ।

जुलाई २५ मा म काठमाडौं तर्फको यात्राको लागि माइक्रोबस समातेर अगाडि बढे । बसको यात्रामा म कल्पनाको संसारमा हराउथे । फेन्टासी दुनियाँमा रमाउदै मेरो यात्रा अगाडि बढ्दै गयो । काठमाडौंमा हाम्रो लागि आयोजकको तर्फबाट रुम तयार थियो । जुलाई २६ मा काठमाडौं पुगेपछी म उनीसँग फेरी च्याटमा जोडिए । उनी पनि नेपालतर्फको फ्लाइटको तयारीमा रहेकोले मैले डिस्टर्व नगर्ने मनासय राखी सुखद यात्राको कामना व्यक्त गरे ।

भोलिपल्ट विहान शैलुन गएर केस काटे, दाह्री ट्रिम गरे र फेसियल गरे । किनकी मेरो लागि आजको दिन खास थियो । जसलाई म मन पराउथे उनी आज मेरो सामुन्ने हुने दिन थियो । म त्रिभुवन अन्तराष्ट्रिय विमास्थलको यात्रु आगमन कक्षमा गएर उनको बाटो कुर्न थाले । एकछिनमा कतार ऐअरवेजको बिमान अवतरण गर्यो । मेरो मुटु हर्षले गद्गद् भयो । एकछिनको अन्तरालमा कालो वान पिस अनि गहुँगोरो वर्णमा कालो चस्मा लाएर लगेज एक हातले डोर्याउँदै उनी आइन् । मैले परैबाट उनलाई चिने । उनीसँग झण्डै मेरै उमेरको एक अधवैशे पुरुष पनि देखे । सोचे जहाजमासँगै आउने कोही होला ।

उनले मलाई परैबाट देखेर हात हल्लाउन थालिन् । मैले पनि प्रत्युत्तमा हात हल्लाएँ । उनी मेरो नजिक आइन् र हातको लगेज छोडेर उन्मुक्त रुपमा मेरो अँगालोमा आइन् । भनौं उनले हग गरिन् । र, खुसि हुँदै अगाडि देखेको अधवैंशे पुरुष तर्फ फर्कदै भनिन् – “मेरो साथी ……… । ”
त्यो पुरुष तर्फ फर्कदै थप्दै गइन् “मैले तिमीलाई भनेको थिए नि उही (मलाई देखाउदै) हो मेरो बेस्ट फ्रेण्ड ।”
मैले हात उठाए सम्बोधनको रुपमा ।
अनि उनी भन्दै गइन् –“ऊ चाहि मेरो हस्बेण्ड” ।
म असमन्जसमा परे । मेरो लागि आधा आकाश खसे जस्तो भयो । उनको र मेरो बीच रहेको धर्ती फाटे जस्तो लाग्यो । मैले केही सोच्न सकिन । त्यतिन्जेल उनको पुरुष मेरो नजिक आयो र हात मिलाउन हात अघि सार्यो । मैले राम्ररी हात उठाउनसमेत सकिन ।
मेरो अनुहारको भावभङ्गी सबै उडिसकेको थियो ।
“एनिथिङ्ग रङ”
उनी थप्दै गइन् “तिमीलाई सन्चो छैन?”
मैले आफूलाई एडजस्ट गर्दै उनलाई भने, “यात्राले गर्दा थकान छ, म भोली भेट्छु । ”
“ओके तिम्रो जन्मदिन धुमधाम मनाउनुपर्छ है !” उत्साहित हुँदै उनी बोलिन् ।
“हवस्” भन्दै म छुटे । कोठा जाने बित्तिकै उनलाई फेसबुकमा ब्लक गर्ने र उनको सामु कहिल्यै नपर्ने संकल्प गर्दै मैले आफ्नो बाटो तताए । क्रमश:

(कथाको पात्र तथा स्थान काल्पनिक हुन । कसैको वास्तविक जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ ।)

यो पनि…

कथा: साईबर प्रेम (भाग-२)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!