- दिवेश खड्का

रोमानियाको राजधानी बुचारेष्ट बसेको पनि ४ वर्ष वितिसकेछ । मलाई नेपाल जाने हुटहुटी थियो । अझ भनौ मेरो प्यारो गाउँ शुक्रबारे । स्थानीय सरकार आएपछि भएको परिवर्तन मैले सामाजिक सञ्जालमार्फत धेरै पटक देखेको थिए । “आई लभ शुक्रबारे” लेखिएको भ्यूटावरबाट शुक्रबारे बजारको सुन्दर दृष्य मेरो सपनामा हजार पटक आएको थियो । सपना चाँडै यथार्थमा बदलिने थियो । किनकी, मेरो नेपालको लागि फ्लाइट यहिँ जुलाई २६ मा थियो ।

१३ घण्टाको लामो यात्रापछि म काठमाडौं टेक्दैथिए । मेरो मन खुसीले गद्गद् थियो । मैले फेसबुकबाट बनाएको मेरो प्यारो साथी मलाई लिन स्वयं एअरपोर्ट आउँदै थियो । मात्र सामाजिक सञ्जालले जोडेको हाम्रो मित्रता कुनै सानो बच्चादेखिको मित्रता भन्दा कम थिएन । हामी त यति फ्रेण्ड्ली थियौं । की हाम्रो बीचमा कुनै सङ्कोच थिएन । अझ उसको सानो सानो कुरा सुनाउने अनि मेरो रिप्लाई पर्खने बानी त बिछट्टै राम्रो थियो ।

च्याट कै क्रममा उसले एकदिन भन्यो, “तिम्रो एउटा तस्वीर पठाऊ” ।
मैले पठाए । किनभने हाम्रो तस्वीर आदान प्रदान सामान्य भैसकेको थियो ।
–“वाउ ! कति राम्रो ! सायद यो फोटो सँधै हेरिरहनेछु ।”
“मोबाइलको वाल पेपरमा …….!” मैले आश्चर्य मिश्रित भावमा सोधे ।
–“मुुटुको कुनामा, मन अनि मष्तिसकमा सँधै सँधै ।”
“थैट पागल ! बरु भन फोटो कस्तो लाग्यो ?”
–“सुन्दरी ! पशुपति तिर धेरै देखेको जस्तो लाग्यो ।”
“बाँदर ! जे पायो तेही है !”
–“अलिअलि त चलिहाल्छ नि !
……………………………………
यसरी हाम्रो कुराकानी चल्थ्यो ।

कतार एयरवेजले नेपालको धर्ती चुम्दैथ्यो । मेरो मन मलाई पर्खेर बसेको साथीकहाँ मात्र थियो । उसलाई भेट्ने रहरले मेरो मुटुको धड्कन खुसीले बाहिरै आउने गरी धड्कीरहेको थियो । लगेजहरु क्यारियरमा राखेर म बाहिर आए । अलि पर ऊ ब्यग्र प्रतिक्षामा उभिरहेको थियो । मैले हात हल्लाए । उसले पनि खुसीको भावमा हात हल्लायो । म जब उसको नजिक पुगे एकछिन लाई सारा त्याहाँ भएका मानिसहरु बिर्सिएर उसलाई हग गर्न पुगेछु । मैले त म सँगै आउने पुरुषलाईसमेत बिर्र्सिएछु । जसोतसो परिस्थितीलाई सम्हाल्दै मैले दुवै जनाको परिचय गराए ।

केही बेरमा उसको अनुरहारको रुप रङ्ग उडेको पाए । सायद थकानले वा पहिलो साक्षात्कार भएर पो हो कि । ऊ पनि अघिल्लो दिन मात्र काठमाडौ आएको थियो । उसको सङ्गठनको कार्यक्रम भन्दैथ्यो । मैले नै आराम गर्न सुझाव दिदैँ भोली उसको बर्थ डे मा भेट्ने भन्दै त्यहाँ बाट छुट्टिएका थियौं । हामीलाई लिन ह्यात होटलको भेन आइसकेको थियो । हामी उतैबाट अनलाइन बुकिङ्ग गरेर आएका थियौ ।

मैले उसको बर्थ डे मा हामी बसेकै होटलमा सरप्राइज पार्टी दिने सोच बनाएको थिए । हयात् होटलमा फ्रेस भैं म यात्राको थकानले ढल्किएको केहीबेरमै निदाएछु । बिउँझिदा बेलुकाको ८ बजेछ । हामी डिनरको लागि तयारी भयौं । डिनरपछि एकैपटक उसलाई फस्ट बर्थडे विस गर्ने भनेर मैले मोबाइलमा ११ः५० को अलार्म सेट गरे र एकै पटक तेही बेला म्यासेज गर्छु भनेर रोमाञ्चित हुँदै थकित शरीरलाई आराम दिए ।

मोबायलको आलार्म ले मेरो निद्रा ब्युझियो । मेरो सबैभन्दा मिल्ने साथीेको बर्थ डे मा मायारुपी शब्द वर्षात गर्नका लागि राम्रो कोटेसन सर्च गर्न थाले । ठ्याक्कै १२ बज्यो । उसको प्रोफाइलबाट नाम सर्च गरे । तर, त्यो नामको कोही देखिएन । च्याटमा गए । उसको नाम त अगाडि हुनुपर्ने । एकदिन अगाडी मात्र च्याट गरेको । त्यहाँ पनि मैले देखिन । मेरो छटपटी बढ्न थाल्यो । मोबाइल ह्याङ पो भयो कि भनेर एक पटक स्वीच अफ गरी अन गरे । अह उसको आइडि देखाएन । म असमञ्जसमा परे । आखिर किन उसले मलाई ब्लक गर्यो । मनभरी विभिन्न तर्कनाले खेल्न थाल्यो ।

उसको नम्बरमा फोन गरे तर उताबाट बारम्बार एउटी केटी “माफ गर्नुृ होला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्वीच अफ गरिएको छ ………………।” पटक पटक यो आवजले मलाई इरिटेड गरिसकेको थियो ।
सुनेको थिए काठमाडौं मा हुने सम्मेलनमा त भोटको खेलले मान्छे नै गायव बनाउँछन् । कतै ……….उसलाई पनि ……….गायव त ……..बनाएनन् । होइन ! होइन ! त्यति स्मार्ट मान्छेलाई कसले त्यस्तो गर्न सक्छ ?

मेरो छटपटि बढ्दै गयो । अब त निद्रादेवी नि मबाट भागिसकेकी थिइन् । म कोठाको बार्दलीमा निस्किएर औँसीको निष्पट अँध्यारोमा परसम्म हेरीरहे । मेरो दिमाग एक तमासको भैरहेको थियो । यतिकैमा मैले मेरो पुरुषको मोबाइलमा नोटिफिकेसनको घण्टी बजेको सुने । उसकै फेसबुकबाट सर्च गर्ने विचार गरे । अर्को बेडमा निदाइरहेको पुरुषले चाल नपाउने गरी उसको मोबाइल झिकेर म मेरो बेडमा आए । हतपत मैले फेसबुक खोलेर उसको प्रोफाइल खोले । खुल्यो ।

अनि फेरी मेरो मोबाइलबाट सर्च गरे । मैले भेटिन । मलाई प्रष्ट भयो । उसले मलाई ब्लक गरेको रहेछ । आखिर किन ? मैले केही सोच्न सकिन फेरी उसको मोबाइलमा हेरे । उसको केही घण्टा अगाडीको पोष्ट रहेछ । गीतको लिङ्क शेयर गर्दै गीतको बोल लेखिएको रहेछ ।

“जाँदैछु टाढा, धेरै टाढा, आउदिन अब तिम्रो अघि म
भुलेर सारा, पलहरु गाढा, पर्दिन अब तिम्रो अघि म”

यूटूबमा सर्च गरेर गीत हेरे । निकै मार्मिक थियो । तर, उसले किन यो गीत राखेर मलाई ब्लक गर्यो ? मैले त सधैं उसलाई हरेक कुरामा इन्सपायर गर्दै, उसका हरेक गतिविधिमा साथ दिदैँ आएको थिए । आखिर किन उसले मलाई ब्लक गर्यो ?

मेरो बर्थडेमा अबेरसम्म बसेर मलाई बर्थ डे विस गरेको थियो । उसले लेखेको थियो– “जन्मदिनको करोडौं शुभकामना ! तिमी जस्तो मन मिल्ने साथीसँग सयौं जुनि यसरी नै गफ गर्न पाऊ ।
“धन्यवाद साथि !, तिम्रो मनोकामना पुरा होस् ।”
– “पुरा नहुने त चान्स नै छैन । संंसारका सबै अबरोध तिम्रो लागि हटाउन म तयार छु ।” उसले भन्यो । त्यतिबेला म विवाह बन्धमा बाँधिएको थिइन । मैले भने,–“हो नि साथि, तिमी हुँदा जस्तो युद्ध नि जित्न सक्छु ।”

तर, आज मैले उसलाई शुभकामनासमेत दिन सकिन । युद्ध हारेको योद्धाको जस्तो हालत भएको थियो । आँसुको ढिक्काहरु मेरो आँखाबाट बरबर खस्न थाले । मोबाइलको स्क्रीन आँसु ले लतपतिएछ । मैले केही सोच्न सकिन ।
म काठमाडौं आउँदा भेट्न आउने अनिसँगै बर्थ डे सेलब्रेट गर्ने हाम्रो कुरा थियो । किन एक्कासी उसले यस्तो गर्यो । कतै मलाई म्यासेज नलेखोस भन्ने आसय त हैन । अनि फेरी किन त्यस्तो बिछोडको गीत उसले पोष्ट गरेको ? मैले केही बुझ्न सकिन । मेरो मन एकतमासले उदासिन भयो ।

उसले त कुनै नयाँ ठाउँ घुम्नेसम्मको योजना सुनाएको थियो । मैले पनि उसलाई सरप्राइज दिन अन्त कतै हैन उसकै ठाउँमा बन्दै गरेको फुट हिल ट्रेल र त्यो अग्लो पटेक डाँडामा बसेर ऊ सँग मनका कुराहरु राख्ने योजना बनाएको थिए । उसँग जिन्दगीका रङ्गहरुको बारेमा, सुनिने ध्वनीहरुका बारेमा घण्टौ गफ गर्ने रहर थियो । म सँग फेसबुकमा जोडिएको २ वर्ष मात्र भएको थियो । हामी एक अर्कालाई असाध्यै चाहन्थ्यौ । त्यो मलाई थाहा थियो । तर, ६ महिना यता मैले हाम्रा गफ गर्ने शैली परिवर्तन गरिसकेको थिए । किनकी मेरो जीवनमा एक जना पुरुष जोडिसकिएका थिए जो अर्को बेडमा मस्त निदाइरहेका छन् ।

मैले उसलाई प्रत्यक्ष भेटेर मेरो त्यो विवाह या भनौं परिबन्धको बारेमा सुनाउने विचार थियो । फेसबुकम मैले पोख्न नसकेको बह पोख्न मन लागेको थियो । तर ………अफसोच ।
म कति पिडा लुकाएर ऊ सँग रमाउँदै च्याट गर्थे । मैले उसलाई नराम्रो नलागोस भनेर मेरो विवाहको बारेमा अलिकति पनि थाहा दिएको थिइन । सायद यहिँ पो ठूलो गल्ती भयो कि ! फेरी म उसलाई त्यसरी च्याटमा भन्न सक्ने अवस्थामा पनि त थिइन । म त उसलाई विवाहको लागि सदैव उक्साउथे । उसले पछिल्लो पटक एउटी केटी को फोटो सेन्ड गर्दै एक दिन भन्यो –
“हेरन ! घरबाट यो एउटा नयाँ केटीको प्रस्ताव ।”
“राम्रो छ । लिन्क सेन्ड गरन । म डिटेलमा हेर्छु ।”
उसले हतपत लिन्क पठायो । मैले हेरे । उसको लागि एकदम राम्रो जोडि हुन्थ्यो ।
“हेर तिम्र्रो लागि धेरै राम्रो हुन्छ । अवसर खेर नफाल !”
– “ह्या यस्तो कुरा नगर । तिमीलाई थाहा छैन मलाई कत्रो प्रेसर छ । अनि तिमी फेरी कहिल्यै मलाई बुझ्दिनौं ।”
मैले उसलाई बुझेको थिए । मात्र विवशताले मैले बुझे/नबुझे जस्तो मात्र गरेकी थिए ।
सँधै हाँसी खुशी बोल्ने ऊ म सँग किन यति टाढियो ? मेले एअरपोर्टमा एक्कासी मेरो पुरुषलाई चिनाउँदा पो उसलाई नराम्रो लागेको हो की । तर्कनाले निदाउनै सकिन म त्यस रात । विहानको ५ बजि सकेछ । बाहिर मानिसहरु मर्निङ वाकमा निस्केको आवाज झिनो सुनिदै थियो । सोचे आज दिउँसो काठमाडौंको मुख्य सेमिनार हुने ठाउँमा उसलाई खोज्छु । कहि न कहि त पक्कै भेट्नेछु । उसलाई बर्थ डे विस दिन नसकेपनि उसको नाममा एक ड्राफ्ट नोटबुकमा सेभ गर्दै म दिनको प्रतिक्षामा बसिरहे ।

प्रिय साथि,
तिमीलाई जन्मदिनको असिमित शुभकामना !
प्रेम प्राप्ती मात्र हैन त्याग पनि रहेछ ।
जीवनमा सोचे जस्तो सबै पाउन नसकिदो रहेछ ।
तर, तिम्रो जीवन सप्तरङ्गी झैं रङ्गीन बनोस् ।
उही तिम्रो भलो चिताउने
अभागी साथि

क्रमश:

(कथाको पात्र तथा स्थान काल्पनिक हुन । कसैको वास्तविक जीवनमा मेल खाएमा संयोग मात्र हुनेछ ।)

 

यो पनि…

कथा: साईबर प्रेम (भाग-१)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसबुक पेज लाइक गर्नुहोस्
Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!