- संगालोखबर सम्वाददाता

बेलबारी । एउटै खुकुरीको मूल्य ६० हजार पर्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सुन्दा अचम्म लागेपनि, यो सत्य हो । मोरङको बेलबारीमा खुकुरी उद्योग खोलेर बसेका एक उद्यमीले तयार गरेको खुकुरीको मूल्य ६० हजार तोकेका छन् ।

विश्वकर्मा कृषि औजार उद्योगका संचालक शेरबहादुर विश्वकर्माले नेपालको नक्सासहितको खुकुरीको मूल्य ६० हजार राखेका हुन् । उनले बनाएका खुकुरी २५ सयदेखि ६० हजारसम्मका छन् । ३० दिन मेहनत गरेर बनाएकाले खुकुरीको मूल्य ६० हजार तोकेको विश्वकर्मा बताउँछन् । ‘एउटा खुकुरी बनाएर सामाजिक संजालमा हालेको थिए । माग बढिरहेको छ ।’ उनले भने–‘अहिले नेपालको नयाँ नक्सासहितको खुकुरी बनाउँदैछु ।’

नयाँ तरिकाले खुकुरी बनाएपछि उनको व्यापार पनि बढ्न थालेको छ । लकडाउन भन्दा अगाडिसम्म पुरानै तरिकाले खुकुरी, चुलेसी, हँसिया हतौडा, खुर्पा लगायत सामाग्री बनाउँदै आएका उनले लकडाउनसँगै पुरानो पेशालाई नयाँमोड दिएका हुन् । उनले बनाएको खुकुरीको बिँडमा नेपालको नक्साको ३० प्रतिशत भूभाग समेटिएको छ भने दापमा ७० प्रतिशत भाग छ ।

१० बर्षदेखि खुकुरी बनाउन थालेका विश्वकर्मा राम्रो पैशा कमाउने सपना बोकेर बैदेशिक रोजगारीका लागि विदेशसमेत पुगे । विदेशबाट फर्किएपछि उनले व्यवसाय गर्न आधुनिक उपकरणको व्यवस्था मिलाईदिन माग गर्दै बेलबारी नगरपालिकामा निवेदन दिएका थिए । नगरपालिकाले विद्युतीय पंखा, ग्राइनडर, ड्रिल मेसिन, कोइला, फलाम लगायत सामाग्री दिएपछि उनी व्यवसायीक रुपमा अघि बढेका हुन् ।

आफ्नै क्षेत्रमा केही गर्न चाहनेहरुलाई नगरपालिकाले प्रोत्साहन गर्ने योजना अनुरुप उनलाई सहयोग गरिएको बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदी बताउँछन् । उनी भन्छन्–‘आफ्नै क्षेत्रमा व्यावसाय गरेर स्वरोजगार बन्न चाहनेलाई नगरपालिकाले सहयोग र प्रोत्साहन गर्छ ।’

नगरपालिकाको सहयोगका कारण अहिले शेरबहादुर मात्र स्वरोजगार भएका छैनन् थप दुई जनालाई पनि रोजगारी दिएका छन् । रोजगारीका लागि विदेशमा भौतारिएर फर्किएको मान्छेलाई नगरपालिकाले व्यवसायीक रुपमा अघि बढ्न साथ र हौसला दिएको भन्दै उनले खुशी व्यक्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!