- रबिन कटेल/संगालोखबर

बिराटनगर । श्रीमतीकै योजनामा बिराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार अपरान्ह अनलाइनमार्फत पत्रकार सम्मेलन गर्दै श्रीमती मिना श्रेष्ठ दुलालकै योजनामा ३३ बर्षीय दुलालको हत्या भएको जनाएको छ ।

Advertisement

प्रहरीको अनुसन्धानका क्रममा मिनाले अन्य दुई युवालाई साथमा लिएर दुलालको हत्या गरेको देखिएको मोरङका प्रहरी प्रमुख एस्पी विश्व अधिकारीले जानकारी दिए । ‘श्रीमतीकै योजनामा हत्या भएको अनुसन्धानका क्रममा खुलेको छ ।’ पत्रकार सम्मेलनमा एस्पी अधिकारीले भने ‘हत्यामा संलग्न पाईएका तीन जनालाई पक्राउ गरेर कारबाही प्रकृया सुरु गरेका छौ ।’

हत्यामा संलग्न भएको भन्दै प्रहरीले दुलालकी श्रीमती मिनासहित, सिरहाको लहान–१० घर भई बिराटनगर बस्दै आएका २१ बर्षीय ब्रम्हदेव साह र ईटहरी–१२ का २० बर्षीय सोनु शाहलाई पक्राउ गरेको छ । उनीहरुबिरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही प्रकृया थालिएको छ । प्रहरीका अनुसार मिना र देवीप्रसादबीच १० बर्ष अघि प्रेम विवाह भएको थियो । उनीहरुबीच केही समययता सम्बन्ध चिसिएपछि मिनाले श्रीमान–श्रीमतिबीचको सम्बन्धका बारेमा ब्रम्हदेवलाई बताउँने गरेकी थिईन् । सोहि क्रममा देवीप्रसादसँग सम्बन्ध चिसिदै गएपछि मिनाकै योजनामा उनको हत्या भएको प्रहरीले जनाएको छ ।

मिनाले हत्या गर्ने योजना अनरुप ब्रम्हदेवलाई खबर गरेको र ब्रम्हदेवले सोनुलाई साथमा लिएर गई योजनाबद्ध रुपमा दुलालको हत्या गरेको पत्ता लागेको एस्पी अधिकारीले बताए । उनले भने –‘तीन जना मिलेर देवीप्रसादको हातखुट्टा समाई घाँटीमा प्लाष्टिकको डोरीले कसेर हत्या गरेको पाईएको छ ।’ इटहरी–१२ खनार घर भएका दुलालले विराटनगर–१० मधुमारामा देवी माँ पाथीभरा फर्मा नामक औषधि डिलर सञ्चालन गर्दै आएका थिए । श्रीमती र ८ बर्षीय छोराका साथमा औषधि पसल भएकै घरमा डेरा बस्दै आएका दुलालको शनिवार राती हत्या भएको हो ।

श्रीमान बेहोस अवस्थामा भेटिएको भन्दै मिनाले छिमेकीलाई खबर गरेर राती अस्पताल पुर्याएकी थिईन् । रातीनै अस्पतालले उनलाई मृत्य घोषित गर्यो । छोरा निदाएका बेलामा ब्रम्हदेव र सोनुसँग मिलेर योजनाबद्ध रुपमा श्रीमानको हत्या गरी घटना ढाकछोप गर्न उनले श्रीमानकै साथीलाई बोलाएर अस्पताल पुर्याएको प्रहरीको भनाई छ । मृतकको घाँटीमा निलडाम, आँखाको डिलसहित शरिरमा चोट देखिएपछि मृत्यु शंकास्पद भन्दै प्रहरीले घटनाको बिषयमा अनुसन्धान थालेको थियो । एक दिनकै अनुसन्धानबाट प्रहरीले घटनाको बास्तविकता पत्ता लगाएर हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारबाही प्रकृया अघि बढाएको हो ।

हत्यामा संलग्न ब्रम्हदेव देवीप्रसादको औषधि फर्माका पूर्व कर्मचारी हुन् । उनलाई पाँच महिना अघि देवीप्रसादले कामबाट निकालेका थिए । मिना र ब्रम्हदेवको सम्बन्धका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसअघि प्रकाशित समाचार…

बिराटनगरमा औषधि व्यवसायीको शंकास्पद मृत्यु, प्रहरीले थाल्यो अनुसन्धान

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!