काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट सुत्केरी महिलाको मृत्यु भएको पुष्टि भएको छ । धुलिखेल अस्पतालमा उपचारका लागि ल्याईएकी सिन्धुपाल्चोककी २९ बर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
मन्त्रालयले शनिवार साँझ प्रेस बिज्ञप्ति जारी गर्दै नेपालमा कोरोनाका कारण पहिलो मृत्यु भएको पुष्टि गरेको छ । बैशाख २३ गते त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी उनले २४ गते बच्चा जन्माएकी थिईन् ।
२५ गते डिस्चार्ज भएर घर गएपछि ज्वरो आउँने र स्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उनको उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि धुलिखेल ल्याउँने क्रममा उनको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले कोरोना संक्रमणकै कारण उनको मृत्यु भएको पुष्टि गरेका हुन् ।
कोरोना संक्रमणबाट नेपालमा भएको यो नै पहिलो मृत्यु हो । मृतक महिलाको शवलाई शनिवार राती नै दाहसस्कार गरिने बताईएको छ । संक्रमणका कारण मृत्यु भएको पुष्टि भएपछि उनको गाउँ र माईती गाउँ पनि सिल गरेर उच्च सतर्कता अपनाईएको छ ।
शनिवार साँझसम्म नेपालमा २८१ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । जसमध्ये ३६ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । प्रदेश नं.२ का ८ वटै जिल्लासहित नेपालका २६ जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।