- उपप्रा. लक्ष्मीप्रसाद बराल - नेपाली पात्रो

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अध्ययन र अनुभवलाई व्यवहारमा उतार्ने समय छ। चिताएको काम बन्नाले यो महिना उत्साहवर्धक रहनेछ। तारिफयोग्य कामले लोकप्रियता हासिल गर्न सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ। विशिष्ट व्यक्तिसँग निकटता बढ्नेछ। विशेष भेटघाटको अवसर जुट्नेछ। व्यापारमा मनग्य फाइदा हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ। सामाजिक तथा राजनीतिक कार्यमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुनेछ। भूमि तथा चल–अचल सम्पत्ति जोड्ने समय छ। परिवारमा सुख–समृद्धि बढ्नेछ। स्वास्थ्यमा भने केही समस्या देखापर्न सक्छ। उद्योगतर्फ मर्मतसम्भारमा खर्च बढ्नेछ भने व्यापार–व्यवसायमा थप लगानी जुटाउनुपर्ने हुन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
योजना ठूलो बन्नेछ। तर काममा केही चुनौती देखापर्नेछन्। स्वतःसिद्ध अधिकारसमेत बिनासंघर्ष प्राप्त नहुन सक्छ। सहयोगी अभाव र कामको चापले लक्ष्यप्राप्तिमा केही विलम्ब हुनेछ। तापनि अवसर, आवश्यकता र चुनौती नै कर्मयोगका प्रेरक बन्नेछन्। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक स्तरका काम सम्पादन हुनेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। टाढिएका आफन्तहरू नजिकिनेछन्। ईष्र्या गर्नेहरूले दुःख दिए पनि हिम्मतले काम बन्नेछ। आयस्रोत सबल रहनेछ। सामाजिक जिम्मेवारी वहन गर्नुपर्ला। मतभेदले प्रेम र दाम्पत्यमा खटपटी निम्त्याउन सक्छ। भैपरी आउने समस्यासँग जुध्नुपर्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मिहिनेत गर्दागर्दै पनि काम बिग्रने डरले सताउन सक्छ। आकस्मिक बाधा र अधैर्य व्यवहारले आफ्नै अडानमा टिक्न समस्या पर्नेछ। स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान दिनुपर्ने समय छ। सहयोगीहरू पछि हट्नेछन् भने आफ्नाले समेत हतोत्साहित तुल्याउने चेष्टा गर्नेछन्। समयमै सजग नबन्दा काम रोकिनुका साथै विलम्ब शुल्कको भागीदार बन्नुपर्ला। आम्दानी बाहिरिनुका साथै अर्थ अभावले सताउन सक्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नाले जोस–जाँगरमा पनि कमी आउनेछ। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। नयाँ काम गर्न बाधा भए पनि नियमित काम सम्पादन हुनेछन्। अवसरका लागि दौडधुप र संघर्ष भने गर्नुपर्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पतिपत्नीबीच मतभेद देखिनाले घर–गृहस्थी केही असामान्य रहनेछ। चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। नयाँ काम गर्न समय लागे पनि नियमित काम सम्पादन हुनेछन्। व्यापारमा सामान्य लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। व्यावसायिक यात्रा गर्ने साइत जुर्नेछ। अध्ययनको सफलताले पनि विदेश जाने अवसर दिलाउन सक्छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। मित्रताको बन्धन प्रगाढ हुनेछ। सामान्य खटपटी देखिए पनि प्रेमसम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने बलियो सम्भावना देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कर्मसाधना गर्नेहरूलाई यो महिना विशेष उपलब्धिमूलक रहनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। घर–गृहस्थी, प्रेम सम्बन्ध आदिमा भने समय दिन नसकिएला। भौतिक साधन प्राप्त हुनाले महत्त्वाकांक्षी योजना प्रारम्भ गर्न सकिनेछ। दिगो फाइदा हुने कामको जग बसाउने समय छ। रोकिएका काम बन्नुका साथै अर्थ उपार्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। पहिलेका प्रतिस्पर्धीहरू समेत सहयोगी बन्नेछन्। प्रयत्न गर्दा नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। अड्किएका काम पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। प्रतिस्पर्धाको दौडमा पनि अग्रस्थान प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अवसरका लागि केही दौडधुप र संघर्ष गर्नुपर्ने देखिन्छ। आफ्नो मान्यतामा अडान लिन नसकिएला। विवादास्पद कामले समस्या निम्त्याउन सक्छ। केही साथीभाइसँगको सम्बन्ध कमजोर बन्नेछ। स्वास्थ्यमा मौसमी समस्या देखापर्ने समय छ, सजग रहनुहोला। काममा केही विलम्ब भए पनि समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ। मिहिनेत गर्दा बौद्धिक क्षमता बढ्नेछ र अध्ययनमा पनि राम्रै नतिजा हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ। आँटले काम लिँदा राम्रै प्रतिफल हातलागी हुनेछ। अड्किएका काम पनि प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेर स्वरोजगार बन्न सफल भइनेछ। लेनदेन गर्दा आफ्नो मूलधन सुरक्षामा सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थितिवश मातापिता र परिवारजनबाट टाढा भइनेछ। उच्च महत्त्वाकांक्षाले समस्या निम्त्याउने हुँदा बुद्धि–विवेकले काम लिने चेष्टा गर्नुहोला। भूमिबाट सामान्य लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा वादविवाद आउन सक्छ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण वादविवाद हुन सक्छ। तापनि, भाग्यले असल प्रेमपात्र जुराउन सक्छ। दाजुभाइ र शुभचिन्तकको सहयोगले परिस्थिति अनुकूल बनाउन सफल भइनेछ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुनेछन्। तत्काल फाइदा नभए पनि पछिका लागि कर्मसञ्चय हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अवसर खोज्नेहरूका लागि यो महिना निकै उत्साहवर्धक रहनेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नयाँ कार्य थालनी हुनुका साथै उद्योग–धन्दा र व्यापारमा विशेष सफलता मिल्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई पनि पद–प्रतिष्ठा प्राप्त हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन्। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। कीर्तिमानी काम शुभारम्भ हुनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। काममा चुनौती देखिए पनि आशा गरिएको फल छिटै प्राप्त हुनेछ। बलजफ्ती प्रयास गर्दा केही हानि पनि बेहोर्नुपर्ला। लगनशीलताले काम सम्पादन हुनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। शिर वा आँखाको समस्याले सताउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने देखिएकाले सजग रहनुहोला। पढाइ, लेखन, संगीत र कलातर्फ आफ्नो प्रतिभाको मूल्यांकन हुनेछ। प्रयत्न गर्दा प्रशंसा, पुरस्कार आदि पाइनेछ। बहुमूल्य वस्तु संग्रह गर्ने योग छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसाय र उद्योगधन्दामा लाभ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला, प्रतिद्वन्द्वीले हार खानेछन् र सामाजिक प्रतिष्ठा पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अप्ठ्यारा कामको नेतृत्व लिनुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। बुद्धिको उपयोगले व्यावहारिक उल्झनहरू हटाउन सफल भइनेछ। दौडधुपमा खर्च बढे पनि पुरुषार्थी काम सम्पादन गर्ने सयम छ। प्रतिष्ठाको संघर्षले सफलताको यश दिलाउनेछ। महिनाको उत्तरार्धमा दिगो काम प्रारम्भ हुनेछ। उच्च महत्त्वाकांक्षाले भने केही समस्या पनि निम्त्याउनेछ। असंयम व्यवहार दर्साउँदा साथीभाइ टाढिन सक्छन्। जिम्मेवारी पूरा भए पनि सम्बन्ध प्रगाढ नहुन सक्छ। घर–गृहस्थी, प्रेम सम्बन्ध आदिमा समय दिन नसकिएला। स्वास्थ्यमा टाउको दुखाइ, पिनास वा आँखाको कमजोरीले सताउन सक्छ। शुभचिन्तकहरूलाई साथ लिएर अघि बढ्दा विशेष फाइदा हुनेछ। वस्त्र, आभूषण आदि उपहार प्राप्त हुनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
यस महिनामा केही व्यावहारिक उतारचढाव आउनेछन्। खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्नेछ। आश्वासन बाँड्नेहरूले प्रतिज्ञा पूरा नगर्न सक्छन्। अप्ठ्यारो समयमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरूले सताउन सक्छन्। आफन्तजन बिनाकारण टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला। सरकारी क्षेत्रमा हुने कडिकडाउको सिकार भइनेछ। कर्मक्षेत्रमा धेरै मिहिनेत र दौडधुप गर्नुपर्ला। उत्तरार्धमा शुभचिन्तकहरूको सहयोग र सद्भाव प्राप्त हुनाले आँटेको काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा विदेश जाने अवसर पनि जुट्न सक्छ। पाउमा चोटपटकको योग देखिएकाले सवारी र हतियारको उपयोग सावधानीसाथ गर्नुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
काममा समय लागे यो महिना निकै फलदायी रहनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ र आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। व्यवसायले उचाइको मार्ग अवलम्बन गर्नेछ। चिताएको काम बन्नेछ र आम्दानी पनि बढ्नेछ। कृषि र पशुधनबाट थथेष्ट लाभ मिल्नेछ। नोकरी तथा राजनीतिमा पनि उत्साहजनक सफलता पाइनेछ। समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अध्ययन–अनुसन्धानले सफलताको उचाइमा पुर्याउनेछ। योग्यता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। भाग्यले असल प्रेमपात्र जुराउनुका साथै घर–गृहस्थी समृद्ध बन्नेछ। विदेश ताक्नेहरूका लागि यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ। माङ्गलिक कार्यमा समय बित्नेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!