- उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) -नेपाली पात्रो 


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
स्वास्थ्यका लागि आराम र खानपानमा ध्यान दिनुपर्ने समय छ। आँटले काम लिन नसक्दा पछि परिनेछ। आम्दानी बाहिरिनुका साथै अर्थ अभावले सताउन सक्छ। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ। समयमै सजग नबन्दा सरकारी कामकाजमा जरिवानाको भागीदार बन्नुपर्ला। खराब आचरणवान् व्यक्तिहरू नजिकिनाले नाममा दाग लाग्न सक्छ। चोटपटकको योग भएकाले हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला। अवसरका लागि केही दौडधुप र संघर्ष गर्नुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि मेहनतले राम्रो लाभ दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
घरखर्च बढ्नेछ भने आम्दानीमा कमी आउने देखिन्छ। स्वास्थ्यमा बाधा र काममा व्यवधान देखा पर्नेछ। समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइएला। आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ। जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। प्रयत्न गर्दा आस मारेको कामले उत्साह जगाउनेछ। स्वास्थ्यमा मौसमी समस्या देखापर्नाले आँटेका काम समयमा सम्पादन गर्न नसकिएला। आत्मीय सम्बन्ध फटाउनेहरू सक्रिय हुनेछन्। तापनि बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। व्यवसायमा पनि लगानी बढाउन सकिनेछ।

Advertisement

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
लामो समयदेखि रोकिएका काम सम्पादन हुनाले यो महिना उत्साहवर्धक रहनेछ। आँटले काम लिँदा मनग्य फाइदा हुनेछ। पद–प्रतिष्ठा प्राप्त हुनेछ। उद्योग–धन्दामा पनि सफलता पाइनेछ। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ। अहिलेको मेहनतले दिगो फाइदा दिलाउनेछ। गुमेको क्षेत्राधिकार पुनः प्राप्त हुनेछ। शत्रुबाधा, मुद्दा जस्ता झमेलाहरूबाट पनि मुक्ति मिल्नेछ। पुरानो असमझदारी हट्नुका साथै टाढिएका आफन्त र साथीभाइसँग पुनर्मिलन हुनेछ। काममा सहयोगीले साथ दिनेछन् भने विभिन्न अवसरले पछ्याउने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ काम, उद्योग वा विशेष व्यवसाय सुरु गर्ने मौका छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरूसँग बिनाकारण विवाद हुन सक्छ। स्वास्थ्यमा मौसमी गडबडीले सताउन सक्छ। आफ्नो अधिकारका लागि सजग रहनुपर्ला। साझेदारी तथा सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। अवसरका लागि अलि दौडधुप गर्नुपर्ने समय छ। परिवारजनको सहमति नजुट्नाले आँटेको काममा विलम्ब हुनेछ। आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। प्रतिस्पर्धीहरूले आफ्नो स्थान लिने चेष्टा गर्नेछन्। गुरुजनको प्रेरणाले अध्ययनमा हौसला मिल्नेछ। परिस्थितिले मनको डरलाई उत्साहमा रूपान्तरण गर्नेछ। सन्तानको सहयोग जुट्नाले रोकिएका काम बन्नेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। पारिवारिक असमझदारीले काममा बाधा उत्पन्न होला। स्वास्थ्यमा मौसमी समस्या, ज्वरो जस्ता समस्या देखा पर्न सक्छन्। तापनि, प्रतिष्ठित व्यक्तिसँग निकटता बढ्नेछ। साथीभाइको सहयोग जुट्नाले परिस्थिति अनुकूल बन्नेछ। व्यवसाय, कृषि र भूमिबाट लाभ हुनेछ। अध्ययनतर्फ लगनशीलताले उचाइमा पुर्याउन सक्छ। मेहनतले काम बन्नेछन्। एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ। समाजमा कीर्ति बढ्ने काम सम्पादन होला। प्रयत्न गर्दा कृषि र व्यवसायमा सामान्य फाइदा उठाउन सकिनेछ। तत्काल धेरै लाभ नभए पनि पछिका लागि कर्मसञ्चय हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
महिना निकै लाभदायक रहनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनाले यो महिना उत्साहवर्धक रहनेछ। मान–सम्मान वा पद–प्रतिष्ठा पाइन छ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ। मेहनतले जीवनशैलीमा राम्रै परिवर्तन आउनेछ। रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने योग छ। घरमा सुख–समृद्धि बढ्नेछ। भूमिलगायत स्थायी सम्पत्ति हातपार्ने समय छ। दाजुभाइबीच सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। कामको सन्दर्भमा समाजले बहिष्कार गरेका वा खराब आचरण भएका व्यक्तिहरूसँग नजिकिनुपर्ला। प्रतिष्ठा जोगाउन व्यवहारमा सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अवसरका लागि केही सम्झौता गर्नुपर्ने देखिन्छ। लगनशीलताले मात्र काम बन्नेछ। पढाइ, लेखन, संगीत र कलातर्फ आफ्नो प्रतिभाको मूल्यांकन हुनेछ। पहिलेको सफलताले पनि उत्साह जगाउनेछ। स्थायी सम्पत्ति र बहुमूल्य धातुहरू संग्रह गर्ने समय छ। तर ठूलो आशा देखाएर ठगी गर्नेहरूले भने सताउन सक्छन्। टाउको र आँखाको समस्याले पनि सताउन सक्छ। प्रयत्न गर्दा प्रतिद्वन्द्वीले हार खानेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसाय र उद्योगधन्दामा पनि फाइदा हुनेछ। विलासी वस्तुका लागि धन खर्च हुन सक्छ। अवसर आउनेछन्, शुभचिन्तकहरूलाई साथमा लिएर अघि बढ्नुहोला, फाइदा हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
विभिन्न अवसर प्राप्त हुनेछन् तर महत्त्वाकांक्षाले समस्या पनि निम्त्याउनेछ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। परिस्थितिलाई बेवास्ता गर्दा व्यवहारमा दुःख पाइनेछ। स्वास्थ्यमा रक्तचाप, टाउको दुखाइ वा आँखाको कमजोरीले सताउन सक्छ। कर्मक्षेत्रमा सफलताको मार्ग अवलम्बन गर्न सकिनेछ। मिहिनेतको राम्रो प्रतिफल पाइनेछ भने महिनाको उत्तरार्धमा दिगो काम प्रारम्भ हुनेछ। आफ्नो योजनामा शुभचिन्तकहरूले साथ दिनेछन्। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धनसमेत कसिने सम्भावना छ। अध्ययनमा विशेष प्रगति हुनेछ। आयस्रोत बलियै रहे पनि आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा आर्थिक पक्ष भने कमजोर रहनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आयस्रोत सबल देखिए पनि यो महिना खर्चिलो रहनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् तर दौडधुप र प्रयत्नले मात्र काम बन्नेछ। व्यावहारिक उतारचढावका बाबजुद उपलब्धि प्राप्त गर्न सफल भइनेछ। अध्ययनमा प्रगति हुनेछ भने विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मित्रताको बन्धन कसिलो हुनेछ भने प्रेम सम्बन्धले वैवाहिक मार्ग अवलम्बन गर्ने सम्भावना देखिन्छ। व्यवसायतर्फ केही चुनौतीहरू पनि देखापर्नेछन्। ठूलो आशा देखाउनेहरूबाट ठगी हुन सक्छ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइनेछ। लगानी र श्रमबाट कममात्र प्रतिफल पाइनेछ। तापनि समयको मागलाई ध्यान दिनुहोला, शुभचिन्तकहरूले काममा साथ दिनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मिहिनेत गर्दा यो महिना निकै फलदायी रहनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने समय आएको छ। अध्ययनका लागि विदेशयात्राको प्रक्रिया अघि बढ्न सक्छ। प्रयत्न गर्दा नयाँ व्यवसाय प्रारम्भ हुन सक्छ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। समाजमा नेतृत्व गर्दै प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मानसम्मान पाइनेछ भने प्रशस्तै आम्दानी बढ्नेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत सबल हुनेछन्। उत्साहजनक समाचार सुन्न पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ। व्यवसायमा मनग्य लाभ हुनेछ। विशेष उपहारसमेत प्राप्त हुने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
यो महिना उत्साहवर्धक रहनेछ। तारिफयोग्य कामले नाम, दाम र इनाम दिलाउन सक्छ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। लगनशीलताले धेरैको मन जित्न सकिनेछ। राष्ट्रियस्तरको मानसम्मान पाइने समय छ। प्रतिष्ठित व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्ति हुने सम्भावना छ। राजनीतिमा लाग्नेहरूलाई पनि विशेष फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। नयाँ पेसा प्रारम्भ हुनेछ भने त्यसबाट मनग्गे फाइदा हुनेछ। कृषिकर्म एवं पशुधनबाट पनि राम्रो लाभ मिल्नेछ। माङ्गलिक कार्यमा समय बित्नेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
केही संघर्ष गर्नुपरे पनि यस महिनामा राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ। राजनीतिक तथा सामाजिक प्रभाव बढ्नेछ। व्यवसाय र नियमित काममा सकारात्मक परिवर्तन आउनेछ। दुर्भावना राख्नेहरू परास्त हुनेछन्। बन्धुबान्धव र गुरुजनको सहयोग जुट्नेछ। घरमा माङ्गलिक कार्य सम्पादन हुन सक्छ। मिहिनेत गर्दा व्यवसायमा प्रगति हुनेछ। वैधानिक समस्या पनि समाधान हुनेछन्। तर भैपरी आउने समस्यासँग भने जुध्नुपर्ला। लामो सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ। चोटपटकको योग देखिएकाले सवारी तथा हतियारको उपयोग सावधानीपूर्वक गर्नुहोला। महत्त्वाकांक्षी कामले खर्च बढाउन सक्छ। तत्काल फाइदा नभए पनि दिगो काम प्रारम्भ हुनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!