काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यताको अध्ययन प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन् । दुई दिने भ्रमणका लागि नेपाल आएका चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति बिद्यादेवी भण्डारीले शनिबार राती काठमाण्डौंमा आयोजना गरेको रात्रिभोज कार्यक्रमलाई संबोधन गर्दै चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन् ।

यस्तै अरनीको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाइ त्यसलाई विभिन्न चरणमा स्तरोन्नती गर्ने तथा केरुङदेखि काठमाडौंसम्मको सुरुङमार्गलाई अघि बढाउन पनि चिनियाँ सरकार सक्रिय रहेको जानकारी दिए । राष्ट्रपति सीले नेपालसँगको बढीभन्दा बढी सीमा नाका खोल्न पनि चीन तयार रहेको बताए । यस्तै उनले नेपालको भूपरिवेष्ठित देशदेखि भू(जडित देश बन्ने सपना साकार बनाउन मद्दत गर्ने पनि बताए ।

नेपालको सामाजिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा निकै हर्षित भएको बताउँदै सम्बोधनका क्रममा सीले भने, ‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणमा म नेपालमा आएको छु । यो मेरो कान्तिपुरी काठमाडौँको पहिलो भ्रमण हो । यहाँ मेरा नयाँ र पुराना साथीहरुसँग भेट भइरहेको छ । नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म निकै हर्षित भएको छु ।’

चीन र नेपालबीच दोहोरो सम्बन्ध स्थापना भएको आधा शताब्दीभन्दा बढी अवधिमा दुई देशले छिमेकी मुलुकहरुबीच मैत्रिपूर्ण सम्बन्धको विश्वभर नमुना पेश गरेको पनि सीले बताए । चीन र नेपालको सम्बन्धमा कुनै समस्या नरहेको र मित्रता मात्र रहेको पनि सीले बताए । उनले अगाडि भनेका छन्, ‘सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारी र मैले दुई पक्षले चुनौति र कठिनाइ सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धि तर्फ उन्मुख हुने पुस्तौँपुस्ताको मैत्रिपूर्ण सम्बन्ध र रणनीतिक साझेदारी गर्ने सम्बन्ध स्थापना गर्ने निर्णय गरेका छौँ ।’ यसले दुई देशबीच अझ सहज कनेक्टिभीटी सञ्जाल निर्माण हुने उनले विश्वास व्यक्त गरे ।

उनले नेपालमा गएको भूकम्पपछिको पुनःनिर्माण कार्यलाई सक्रियताका अघि बढाउन साथ दिने, नेपालले अघि सारेको भिजन २०२० को अवसरमा चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने जस्ता आश्वासन पनि दिए । ‘भूकम्प पश्चातको पुननिर्माण परियोजनाहरुलाई हामीले सक्रियताका साथ अगाडि बढाउने छौँ । सन् २०२० नेपाल भ्रमण वर्षको अवसरमा बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई नेपालमा आउन उत्प्रेरित गर्नेछौँ’ उनले भने, ‘ हामी सांस्कृतिक क्षेत्रहरुमा लगानी बढाएर जनताबीचको सम्बन्धलाई अगाडि बढाउने छौँ । दुई देशका बढीभन्दा बढी सहरहरुलाई भगिनी सहरको सम्बन्ध स्थापना गर्न उत्प्रेरित गर्ने छौँ । जसबाट दुई देशबीचको मित्रताको बिज अंकुरण होस् भन्ने चाहन्छौँ ।’

यस्तै सीले चीनमा बौद्ध धर्म मान्ने मान्छेहरुको संख्या विश्वमै सबैभन्दा बढी उल्लेख गर्दै भने, ‘बौद्ध धर्म नेपाल र भारतमा पनि धेरै चर्चित छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी मान्छे नेपालमा पर्यटन गर्नेछन् । र, धर्मको आदान प्रदानका लागि पनि आउनेछन् ।’ सीले लुम्बिनी भगवान बुद्धको जन्मस्थल भएको पनि बताए । सम्बोधनका क्रममा सीले अगाडि भने, ‘वर्तमान अवस्थामा आत्मरक्षावाद, एकलवाद र प्रभुत्ववाद धेरै व्याप्त छ । हामीले बहुलवाद र आर्थिक भूमण्डलीकरणलाई समर्थन गर्नुपर्छ । जलवायु परिवर्तनप्रति नेपालको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । जलवायु परिवर्तन प्रति नेपालको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौँ । सगरमाथा लगायत हिमाली क्षेत्रको रक्षा गर्न हामी सदा तत्पर रहनेछौँ ।’

उनले आफ्नो भ्रमणका क्रममा चीन र नेपालको सम्बन्धको नयाँ खाका बनाउन सकेकोमा आफू अत्यन्त खुुसी भएको पनि उल्लेख गरे । ‘भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि दुई पक्षीय सम्बन्ध र हाम्रो साझा चासोको बारेमा विचार आदानप्रदान गर्नेछु’, उनले भने, ‘म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरुलाई पूरा गरेरै छोड्नुपर्छ । हामीले चीनमा पनि यस्तै गरेका छौँ । भर्खरै हामीले जनवादी गणतन्त्र चीन स्थापना भएको ७० औँ वर्षगाँठ मनाएका छौँ । हाम्रा दुई लक्ष्य छन् । पहिलो लक्ष्य हामी आगामी वर्षमा साकार तुल्याउने छौँ । दोस्रो उद्देश्य चाहिँ ३० वर्षपछि पूरा गर्नेछौँ । हामीले काम गर्ने मार्ग स्पष्ट छ । हामीले त्यसलाई कार्यान्वयन गर्नुपर्छ । हामी संयुक्त प्रयासबाट दुई पक्षीय सम्बन्धको नयाँ भविष्य पनि निर्माण गरौँ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!