पब्जीको लतले अहिले संसारभरका बालबालिका र किशोरकिशोरीलाई सताइरहेको छ । नेपालमा पनि यो भिडियो गेमका पारखीहरु धेरै छन् ।
पब्जी खेलिरहेका बेला ‘खेलाडीहरु’ अर्कै दुनियाँमा पुगेका हुन्छन् । त्यसैले उनीहरुलाई आफू कस्तो अवस्थामा छु भन्ने पनि होस हुन्न् ।

Advertisement

भारतमा अहिले एउटा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । मध्येप्रदेशस्थित भोपालका एक युवकले पब्जी खेलिरहेको सुरमा पानी सम्झेर एसिड पिइदिए । धन्न चाँडै अस्पताल पुर्‍याइएकाले उनको ज्यान जोगियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार अहिले उनी अझै खतरामुक्त भइसकेका छैनन् । २५ वर्षीय युवकको उपचारमा संलग्न डाक्टर मनन गोगियाले भने, ‘ऊ आँगनमा बसेर पब्जी खेलिरहेको रहेछ । खेलमा यसरी डुबेको रहेछ कि पानी भन्ठानेर एसिड पिएछ ।’

पिउनासाथ अत्यधिक जलन भएपछि उनलाई अस्पताल कुदाइएको थियो । डा. गोगियाका अनुसार एसिडले गर्दा उनको पेटमा अल्सर भएको छ र अन्य अंगहरुमा पनि असर गरेको छ । उनलाई अहिले नागपुरको अस्पतालमा रिफर गरिएको छ ।

डा. गोगियाका अनुसार ती युवकले अझै चेतेका भने छैनन् । उपचारकै क्रममा पनि उनी पब्जी खेलिरहेका थिए । डाक्टरहरुले सम्झाउँदा पनि उनी लतबाट बाहिर निस्किन सकेका छैनन् ।

यसैबीच तमिलनाडुपछि मध्यप्रदेशमा पनि पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने माग उठेको छ । यसबाट विद्यार्थीहरुको पढाई प्रभावित भइरहेको र युवाहरु पनि बरालिएको बीजेपीका बिधायक यशपाल सिसोदिया बताउँछन् ।

उनले भने, ‘पब्जी खेल बच्चाहरुका लागि हिंस्रक छ । धेरै अभिभावकहरुबाट विभिन्न गुनासोहरु आइरहेका छन् । त्यसैले यसलाई प्रतिवन्ध लगाउनुपर्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!