अमेरिकाले अल–कायदा नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेन बारे जानकारी दिनेलाई एक मिलियन डलर (११ करोड रुपैयाँ) इनाम दिने घोषणा गरेको छ ।
जिहादको युवराज नामबाट चर्चित हमजा बिन लादेनलाई अमेरिकाले थुप्रै वर्षदेखि खोजिरहेको छ । कहिले उनी पाकिस्तानमा त कहिले अफगानिस्तानमा भएको खबर आइरहन्छ ।
हमजा, ओसामाका तीन जीवित श्रीमतीमध्ये एक खैरिया सबारका छोरा हुन् जो एबटाबादको एक परिसरमा आफ्ना श्रीमान ओसामा बिन लादेनसँग बसिरहेकी थिइन् । गत वर्ष अगस्टमा हमजाले बिन लादेनले वर्ल्ड ट्रेड सेन्टरमा हमलाका अपहरणकर्ता मोहम्मद अट्टाकी छोरीसँग विवाह गरेको खबर आएको थियो ।
द गार्डियनसँग कुरा गर्दै ओसामा बिन लादेनका सौतेनी भाइ अहमद र हसन अट्टाले विवाहको पुष्टि गरेका थिए ।