वीरगञ्ज, २३ माघ । पर्सा क्षेत्र नं ३ बाट निर्वाचित सांसद हरिनारायण रौनियार निलम्बनमा परेपछि सो क्षेत्रको संसदीय समितिको बैठक अन्योलमा परेकाले संसदीय विकासको करीब रु चार करोड बराबरको बजेट फ्रिज हुने भएको छ ।

Advertisement

सो क्षेत्रमा रहेको संसदीय विकास कोषको बजेट सञ्चालन गर्न उक्त क्षेत्रका सांसदको अध्यक्षतामा योजना छनोट गरी पुस मसान्तभित्र निर्णय गरी केन्द्रमा पठाउनुपर्ने प्रावधान रहे पनि सांसद रौनियारको पद निलम्बनमा परेपछि योजना छनोट हुन नसक्दा सो क्षेत्रको बजेट फ्रिज हुने सम्भावना बढेको जिल्ला समन्वय समिति पर्साले जनाएको छ ।

संसद् सचिवालयबाट सत्ता साझेदारी दल सङ्घीय समाजवादी फोरम नेपालका तर्फबाट निर्वाचित सांसद रौनियार निलम्बनमा परेको पत्र आएपछि संयोजकबारे सङ्घीय समाजवादी फोरम नेपाल र नेकपाका सांसदबीच विवाद हुँदा बैठक बस्न नसक्दा योजना छनोट हुन नसकेको सांसद पुष्पा कर्णले बताउनुभयो ।

पर्सा क्षेत्र नं ३ को संसदीय बजेट सञ्चालन गर्ने समयसीमा सकिएकाले रु चार करोड बजेट चलाउन नसकिने अवस्था आएकाले उक्त रकम फ्रिज हुने सम्भावना बढेर गएको पर्साका जिल्ला समन्वय अधिकारी हरि लम्सालको भनाइ छ ।

सांसद रौनियारको पद निलम्बनमा परेपछि पर्सा क्षेत्र नं ३ को संसदीय विकास कोषको संयोजक बन्न फोरम तथा नेकपा सांसदबीच होडबाजी चलेको छ । सो रकम फ्रिज हुने भएपछि त्यस क्षेत्रमा सडक, नाला तथा भौतिक पूर्वाधारको विकास काम प्रभावित भएको स्थानीयवासीको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!