बाँके, २७ पुस । नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजश्व नै पाएको छ । यसले व्यापारिक शहर नेपालगञ्ज उपमहानगरपालिका नै लालपुर्जाविहीन शहरका रूपमा चिनिन थालेको छ ।

मनिकापुरमा ७५ प्रतिशत नागरिक लालपुर्जाको आसमा बसेको ५० वर्ष बितिसकेको छ । मनिकापुरमा कुनै पनि निर्वाचन हुँदा लालपुर्जा नै मुख्य मुद्दा बन्ने गरेको छ ।

विसं २०४६ पछि पनि काङ्ग्रेस र तत्कालीन एमालेले अधिकांश समय तत्कालीन गाविसको सत्ता सञ्चालन गर्दै आए पनि कसैले लालपुर्जा पाउन नसकेको नेपालगञ्ज–२० का वडाध्यक्ष कृष्ण कार्की बताउनुहुन्छ ।

साविकको मनिकापुर गाविस अहिले नेपालगञ्ज उपमहानगरपालिकामा गाभिएको छ । चुनावका बेला चर्चा हुने तर, चुनाव सकिएपछि लालपुर्जाको मुद्दा सेलाउने गरेको वडाध्यक्ष कार्कीको भनाइ छ ।

मनिकापुरका मदनापुर, नयाँबस्ती, बाबाघाट, फारमछोल, गायत्रीनगर, प्रेमनगर, पोतेदारपुर, थपुवालगायतका गाउँ अहिले पनि लालपुर्जाविहीन अवस्थामा रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो ।

“यी गाँउका ७५ प्रतिशत नागरिक लालपुर्जाको पर्खाइमा छन्”, उहाँले भन्नुभयो, “घरजग्गाको लालपुर्जा नहुँदा करोडौँ लगानी गरेर बनाएका घर सम्पत्तिको मूल्याङ्कन हुनसकेको छैन । बैंकले ऋण दिँदैन । उद्योग कारखाना चल्दैन ।” वडाध्यक्ष कार्कीका अनुसार विसं २०२४ देखि बसोबास गर्दै आएका व्यक्तिसमेत अझै लालपुर्जाको आसमा छन् ।

“जुनसुकै पार्टीको सरकार बने पनि मनिकापुरवासीको माग कहिल्यै सुनुवाइ भएन”, स्थानीयवासी लक्ष्मी शर्माले भन्नुभयो, “पुर्जा त चुनावी नारा मात्रै भए ।” गएको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारले पुर्जा दिलाउने कुरा महत्वका साथ उठाएका थिए । उहाँले थप्नुभयो, “घर बनाएर बसेको २५ वर्ष भइसक्यो तर, लालपुर्जा हातमा छैन । हामी जग्गा अतिक्रमण गरेर बसेको पनि होइन तर सुकुम्वासीजस्तै भएका छौँ ।”

मनिकापुरमा १२ हजार ४११ जनसङ्ख्या रहेको छ । जसमा छ हजार ५९ महिला, ६ हजार ३४१ पुरुष र ११ अन्य रहेका छन् । मनिकापुरमा रहेका दुई हजार ४६२ घरधुरीमा ७५ प्रतिशत घरधुरी लालपुर्जाविहीन रहेको वडाध्यक्ष कार्की बताउनुहुन्छ ।

करीब ५० वर्षदेखि पुर्जाविहीन उक्त वडामा अहिले साना, मझौला र ठूला गरी दर्जन बढी विभिन्न उद्योग स्थापना भएका छन् । अधिकांश उद्योगको भौतिक संरचना लालपुर्जाविहीन जमीनमै निर्माण गरिएका छन् ।

यसरी अस्थायी जमीनमा स्थायी संरचना बनिसके पनि नेपालगञ्ज उपमहानगरपालिकाले मनिकापुरवासीलाई लालपुर्जा दिनेतर्फ अहिलेसम्म कुनै चासो देखाएको छैन ।

स्थानीयवासीले स्थायी लालपुर्जाका लागि वडा कार्यालयमार्फत नगरपालिका र सरकारसँग पटकपटक माग गर्दै आएका छन् । तर, ५० वर्षदेखि कसैले पनि चासो नदेखाएको स्थानीय कमला शर्मा बताउनुहुन्छ ।

स्थानीय मागअनुसार सिङ्गो गाउँलाई नै लालपुर्जा उपलब्ध गराउन उपमहानगरपालिकामा प्रस्ताव राखेको बताउँदै वडाध्यक्ष कार्कीले भन्नुभयो, “वडाले केही गर्न सक्दैन । उपमहानगरपालिकामा कुरा पुर्याएको छु, तर, सुनुवाइ हुनसकेको छैन । म निरन्तर लागिरहेको छु ।” लालपुर्जा नै नहुँदा स्थानीयवासी नागरिक सरकारी सेवासुविधाबाट बञ्चित मात्रै भएका छैनन्, सरकारी राजश्वमा पनि कमी आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!