ईश्वर थापा/संगालोखबर

धनकुटा, २२ असोज । गुराँसे टी-स्टेटले कामबाट निकालेका चिया मजदुर र कारखाना व्यावस्थापकबिचको वार्ता निष्कर्ष विहीन भएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतवार वार्ताको प्रयास भएपनि सहमति हुन नसकेको हो। चिया कारखानाले निकालेका चिया मजदुरलाई पुर्नबहाली गर्न नसक्ने जनाएपछि वार्ता निष्कर्षविहीन भएको जनाईएको छ । निष्कासित चिया मजदुरले आफुहरुलाई पुर्नबहाली, श्रम तथा सामाजिक सुरक्षा ऐन २०७४ कार्यान्वयन र राजपत्रमा प्रकाशित न्युनतम पारिश्रमिक लागुको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीको पहलमा सहमति जुटाउन दुवै पक्ष बीच वार्ता भएको थियो। वार्तामा सहभागी व्यवस्थापन पक्षले पुनर्बहाली गर्न नसक्ने अडान राखेपछि सहमति हुन नसकेको अखिल नेपाल चिया मजदुर संघ धनकुटा अध्यक्ष नारायण तामाङले जानकारी दिए। वार्तामा ५ दिन भित्र सहमतिको प्रयास गर्ने, सहमति नभएमा पुन प्रमुख जिल्ला अधिकारीको उपस्थितीमा छलफल गर्ने सहमति भने भएको उनले बताए ।

चिया मजदुरले गत भदौ २४ मा ज्यालादारी मजदुरलाई कामबाट निकालिएपछि चरणबद्ध आन्दोलन गर्दै आएका छन्। यसअघि उनीहरुले गुराँसे टी-स्टेटमा तालाबन्दि समेत गरेका थिए। त्यहाँ गरिएको तालाबन्दी मासिक तलवमा कार्यरत मजदुरले तोडेका तोडेका थिए । आइतबार उनीहरुले जिल्ला प्रशासन कार्यालय एक घण्टा धर्ना समेत दिएका छन् ।

यस्तै सरकारले चिया श्रमिकको मासिक ज्याला ६ हजार ४ सय ६९ र महँगी भत्ता ४ हजार ३ सय १२ गरी १० हजार ७ सय ८१ रुपैयाँ तोकेको छ। दैनिक ज्याला ३ सय ८५ र प्रतिघण्टा ५१ रुपैयाँ तोकिएको छ। चिया कारखानामा काम गर्ने श्रमिकलाई चाहिँ न्यूनतम् ज्यालामा दैनिक थप ४२ रुपैयाँ थपिएको छ।

तर निर्धारण गरिए बमोजिम कारखाना व्यवस्थापकले ज्याला उपलब्ध नगराएको कार्यरत मजदुरले बताएका छन। गत साउन १ देखिनै लागू हुनेगरी साउन ३१ को राजपत्रमा प्रकाशित ज्यालादर, श्रम ऐन र नियमावली हालसम्म चिया कारखानाले कार्यान्वयन नगरेको अखिल नेपाल चिया मजदुर संघ धनकुटा अध्यक्ष तामाङले बताए।

यसअघी प्रकाशित समाचार पनि पढनुहोस्…

धनकुटाकाे गुराँसे टी-स्टेटमा मजदुरले लगाएको ताला मजदुरले नै तोडे

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!