इश्वर थापा/संगालोखबर

धनकुटा, १७ असोज । धनकुटाको हिलेमा रहेको गुराँसे टी-स्टेटमा एक पक्षका मजदुरले लगाएको ताला अर्को पक्षका मजदुरले केही समयमा नै तोडेका छन्। उद्योगले ज्यालादारी मजदुरलाई एकपक्षीय ढंगले कामबाट निकालेको भन्दै पुर्नबहालीको माग गर्दै अखिल नेपाल चिया मजदुर संघले कारखानाको मुल गेटमा बुधबार ताला लगाएको थियो ।

तर ताला लगाएको केहि बेरपछि नै कारखानामा मासिक तलबमा काम गर्ने मजदुरले आफुहरुसँग कुनै सल्लाह नगरी तालाबन्दी गरिएको भन्दै तोडेका हुन्। ताला तोडेपछि उनीहरुले काम सुचारु हुने बताएका छन्।

ज्यालादारी मजदुरले काम गरे अनुसारको ज्याला उपलब्ध गराएर ठेक्का प्रणालीबाट काम गराउन पुराना मजदुरलाई निष्कासन गरिएको कारखाना व्यवस्थापनले जनाएको छ । आफुहरुले केही महिनादेखि तलब नपाएको र दशैंमा सबै रोकिएको तलब पाउने आशामा काम गरिरहेकोले काम कुनै हालतमा नरोक्ने कारखानामा मासिक तलबमा काम गरिरहेका कृष्ण ठकुरीले बताए।

मासिक तलबमा काम गर्ने मजदुरले राजनीतिक आरोप प्रत्यारोपबाट प्रभावित भएर ताला लगाइएको आरोप समेत लगाएका छन्। यता अखिल नेपाल चिया मजदुर संघ इकाइ अध्यक्ष निर्मला तामाङ दाहालले सरकारले ३ सय ८५ तोकेको भएपनि २ सय ५३ मात्र दिएर कामबाट निष्कासन गरेकोले पुनर्बहालीको माग गर्दापनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताइन।

यस्तै अखिल नेपाल चिया मजदुर संघ जिल्ला अध्यक्ष नारायण तामाङले मजदुरको पुनर्बहाली र गत साउन ३१ बाट लागु भएको श्रम ऐन कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताए।

यस्तै गुराँसे टी-स्टेट प्रालिका व्यावस्थापक नविन कार्कीले सबैको सहमतिमा गत भदौ ६ र ७ मा काम गरिएको तलब निकासा गरि ठेक्का प्रणालीमा काम सुरु गरिएको र त्यसको केही दिनपछि मजदुरले आन्दोलन सुरु गरेको बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!