फलेवास (पर्वत)। जिल्ला अस्पताल पर्वतमा अवरुद्ध भएको दन्त सेवा ६ महिनापछि सञ्चालन भएको छ । अस्पतालमा उपचारार्थ चिकित्सक मुक्ति रानाभाटको सरुवा भएसँगै गएको पुस महिनादेखि दन्त सेवा नै प्रभावित भएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय पर्वतको पहलमा स्वास्थ्य सेवा विभागले दन्त रोग विशेषज्ञ चिकित्सक पठाएसँगै दन्त सेवा सञ्चालन भएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिल्ला अस्पताल पर्वतमा आइतबारदेखि उक्त सेवा सञ्चालन भएको हो ।

दन्त सेवा सञ्चालन भएसँगै दाँतको उपचार गर्ने बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको दन्त रोग विशेषज्ञ चिकित्सक सन्तोष पण्डितले बताउनुभयो । दन्त सेवा सञ्चालन भएसँगै सो सेवा लिनका लागि पर्वतलगायत बागलुङ जिल्लाका बिरामी अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ ।

पर्वत जिल्लाका जनतालाई सेवा दिन आवश्यक साधन स्रोतको व्यवस्थापन गरी निरन्तरता सेवा दिने चिकित्सक पण्डितको भनाइ छ । दाँतमा किरा लागेको र दाँत टुटेका र अन्य दाँतका आएको समस्याको परामर्श दिने उहाँको भनाइ छ । दाँतका बिरामी भएका बालक, वृद्धवृद्धा र अन्यका लागि यो सेवा सहज भएको उहाँको दावी छ ।

उहाँले दाँतलाई सफा तथा बलियो बनाउन दिनहुँ दुई पटक दाँत माझ्ने, गुलियो खानेकुरा खाएपछि मुख कुल्ला गर्ने, रातमा सकेसम्म गुलियो खानेकुरा नखाने, बोतलको ढकनी खोल्दा, ओखर फोड्ने जस्ता कामका लागि दाँतको प्रयोग नगर्ने, दाँतको सफाइ राम्रोसँग गर्ने, खाना खाएपछि कुल्ला गर्नेजस्ता कुरामा ध्यान दिनुपर्ने उहाँले वताउनुभयो ।

यदि गिजा सुन्निने, दुख्ने तथा रगत आउने भएमा तत्कालै दन्त चिकित्सककामा गएर उपचार गराइहाल्न उहाँको सुझाव छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!