काठमाडौं, २५ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को कार्यालयमा वातावरण केही फेरिएको छ । नफेरियोस् पनि किन ? अघिल्लो दिनसम्म सलाम हानिरहेको आफ्नै एसएसपी ‘सुन तस्कर’को आरोपमा हिरासतमा थुनिएका छन् ।

विमानस्थलमा ३४ किलो सुन काण्डको आरोपमा हेडक्वार्टरबाटै समातिएका एसएसपी श्याम खत्री अहिले सीआइबीको हिरासतमा छन । उनीसँगै विभिन्न युनिटमा काम गरेका केही अधिकृतहरु सकेसम्म एसएसपी खत्रीको सामुन्ने पर्नु नपरोस् भन्दै तर्किइरहेका छन् ।

ब्युरोका प्रमुख डीआइजी नवराज सिलवाललाई भने सोमबार भ्याइनभ्याई थियो । १० बजेको नियमित बैठकका लागि समेत सिलवाल आउन भ्याएनन् । करिब साढे १ बजे तिर कार्यालय छिरेका सिलवाल निकै थकित मुद्रामा देखिन्थे ।

डीआइजी सिलवालको प्रहरी जीवनमा पनि आइतबारको घटना निकै नौलो थियो । कुनै दिन सँगै प्रहरीमा भर्ना पुगेको साथीलाई हत्कडी लगाउने निर्णय गरेका थिए उनले ।

एसएसपी खत्री र डीआइजी सिलवाल ०४४ सालमा सँगै प्रहरीमा भर्ना हुन पुगेका थिए । तर सिलवाल एकै पटकमा भर्ना भए भने खत्री पहिलो चरणमा छानिएनन् । र, वैकल्पिकमा परे । उनी ०४५ सालमा प्रहरी संगठनमै आए ।

लगभग आफ्नै ब्याजका एसएसपीलाई पक्राउ गर्नुभएको छ, प्रमाण पुगेरै हो त ? भन्ने प्रश्नमा सिलवालले भने ‘कानुनले आफ्नो भन्दैन । हामीसँग प्रमाण छ, त्यसैका आधारमा पक्राउ गरिएको हो ।’

करिब पाँच वर्षअघि सशस्त्र प्रहरी बलका तत्कालीन डीआइजी रञ्जन कोइराला श्रीमती हत्या काण्डको आरोपमा पक्राउ परेका थिए । उनलाई पनि आफ्नै ब्याजी काठमाडौं परिसरका तत्कालीन एसपी राजेन्द्र श्रेष्ठले हत्कडी लगाएका थिए ।

ब्युरोका डीएसपी प्रवीण पोखरेलको जीवनमा आइतबारको घटना कहिलै नविर्सने दिन भएको छ । नेपाल प्रहरीको इतिहासमा कहिल्यै नभएको घटनामा डीएसपी पोखरेल कमाण्डर बनेका थिए ।

आफ्नै हाकिमलाई हेडक्वाटरबाटै बर्दी फुकाल्न लगाएर हिरासतमा ल्याउने डीएसपी पोखरेल सोमबार खत्रीको बयान लिन र प्रमाण संकलन गर्न व्यस्त थिए । डीएसपी पोखरेल भन्छन्- ‘प्रहरीको जागिर खाइयो, प्रहरीकै हाकिम समात्नुपर्ला भनेर कसले सोचेको हुन्छ र ? तर, पनि कानुनले दिएको जिम्मेवारी पूरा गर्नैपर्छ ।’

एसएसपी खत्रीलाई थुनामा राख्ने म्याद थप्न पनि डीएसपी पोखरेल आफैं सोमबार जिल्ला अदालत पुगेका थिए । सोमबार जिल्ला अदालत काठमाडौंले एसएसपी खत्रीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको अनलाइन खवरमा समाचार छ ।

श्रीनारायण यादवसँग खत्रीको ‘कनेक्सन’

सीआइबीका एक अधिकृतका अनुसार सुन तस्करीमा पक्राउ परेका एसएसपी खत्रीको ‘कनेक्सन’ यसअघि नै पक्राउ परिसकेका भन्सारका कर्मचारी श्रीनारायण यादवसँग देखिएको छ ।

लामो समयदेखि तथ्यांक अधिकृतका रुपमा कार्यरत श्रीनारायण यादवसँग खत्रीको दैनिक सम्पर्क देखिएको छ । भन्सारमा आएको सुनको सुरक्षाको जिम्मेवारी पनि एसएसपी खत्रीले नै लिएको सीआइबीको दाबी छ । ‘सुन भन्सारबाट पास गराउने श्रीनारायण यादव हुन्, उनले एसएसपी खत्री मार्फत प्रहरीको सेटिङ मिलाएका रहेछन् । उनीहरुवीच दैनिक थुपै्रपटक दुबै जनाको सम्पर्क देखिन्छ’ सीआइबीका एक अधिकृतले भने ।

सीआइबी स्रोतका अनुसार विमानस्थलमा कार्यरत डीआइजी गोविन्द निरौलाको भूमिकामाथि पनि अनुसन्धान भइरहेको छ । सुन आउने समयमा डीआइजी निरौलाले नै एसएसपी खत्रीलाई खटाएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको स्रोतको दाबी छ ।

त्यसो त यसअघि विमानस्थलकै डीआइजी गोपाल भण्डारीको पनि तस्करसँग सेटिङ देखिएको आशंका गरिएको थियो । तर, ३४ किलो सुन काण्डमा अहिलेसम्म एसएसपी मात्रै तानिएका छन् ।

उता भन्सारका उच्च अधिकृतहरु पनि ३४ किलो सुन काण्डमा शंकाको घेरामा छन् । त्यसो त एयर अरेबियाका नेपाल प्रमुखको भूमिकामाथि पनि सीआइबीले अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!