धनकुटा, २९ साउन । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण मंगलबार बिहानैदेखि धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ ।
विहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन भएका छैनन् । शिक्षण संस्था, कलकारखाना, बजार पसल आंसिक मात्र खुलेका छन् ।
प्रहरीले पक्राउ गरेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेता कार्यकर्तालाई विनाशर्त रिहाइको माग गर्दै नेकपाले एक दिने नेपाल बन्द आवहान गरेको हो । बन्दका कारण यात्रुहरू वीच बाटोमै अलपत्र परेका छन् ।
बन्दको प्रभाव प्रदेश १ का पहाडी जिल्लामा बढि मात्रामा परेको छ ।
तराईका जिल्लामा बन्दको प्रभाव आंसिक मात्र परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रवि पौडेलले जानकारी दिए । बन्दका कारण धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरमा लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् ।
अन्य जिल्लामा लामो दूरीका सवारी साधन चले पनि छोटो दूरीका सवारी साधन कम मात्रामा सञ्चालनमा रहेको एसपी पौडेलले जानकारी दिए ।
बन्द गराउँदै र चन्दा उठाउँदै शंकास्पद गतिबिधि गरिरहेको अवस्थामा केहि ब्यक्तिलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डिआइजी केदार रिजालले बताए । बन्दलाई मध्यनजर गर्दै प्रहरीले प्रदेशभर सुरक्षा सतर्कता बढाएको छ ।