तेह्रथुम, २९ साउन । जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबैन्दी राखेपछि उनीहरुको बिचल्ली भएको छ ।
जिल्ला कारागारमा २५ जनाको क्षमता भएपनि ८८ कैदीबन्दी राखिएको छ । कैदीबन्दीलाई दैनिक शौच गर्न, खाना पकाउन, खानेपानीलगायत समस्या भएको छ ।
अहिले ८३ पुरुष र पाँच महिला कैदीबन्दी रहेको कारागार प्रमुख उमेश घिमिरेले जानकारी दिए । “क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापन गर्न समस्या भएको छ,” उनले भने ।
कारागारको समस्या समाधानका लागि सम्बन्धित निकायलाई पटक–पटक ताकेता गर्दैआएको घिमिरेले बताए। “माग सुनुवाइ भएको छैन,” उनले भने। जीर्ण र साँघुरो भवनमा कैदीबन्दीलाई बस्न सास्ती भएको छ ।