- ईश्वर थापा/संगालोखबर

धनकुटा, ४ साउन । पूर्वी नेपालका १६ जिल्लामा ५७ प्रतिशत धान रोपाई सकिएको छ । पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालयको तथ्यांक अनुसार साविकको पूर्वाञ्चल बिकास क्षेत्रका सवै जिल्लामा धमाधम धान रोपाई भइरहेको छ । मौसम सक्रिय रहेकाले महिनाभरमा आधाभन्दा बढि रोपाई भएको निर्देशनालयका बाली प्रचार अधिकृत अभिमन्यू अधिकारीले जानकारी दिए ।

समयमै बर्षा भएकाले असार महिनाभर उत्साहजनक रुपमा रोपाई भएको र साउन महिनाभरमा लगभग शतप्रतिशत रोपाई हुने उनले बताए । ‘गत बर्षको तुलनामा केही मात्रामा उत्पादन बढ्ने अनुमान पनि गरेका छौं ।’ उनले भने ।

पूर्वका १६ जिल्लामा धान खेति हुने जमिन ४ लाख ६६ हजार २ सय ८६ हेक्टर छ । जसमध्ये हालसम्म २ लाख ६५ हजार ७ सय ८३ हेक्टरमा रोपाई भएको छ । सबै भन्दा बढी सोलुखुम्बुमा ९७ प्रतिशत रोपाई भएको छ भने सबैभन्दा कम सप्तरीमा ३० प्रतिशत रोपाइ भएको छ ।

हिमाली जिल्ला ताप्लेजुङमा ८० र संखुवासभामा ६५ प्रतिशत रोपाई भएको छ । हिमाली जिल्लाहरुको समग्र रोपाइ ८० दशमलव ६६ प्रतिसत भएको छ । यस्तै पहाडी जिल्ला पाँचथरमा ५१, इलाममा ४०, भोजपुरमा ८२, तेह्रथुममा ७१, धनकुटामा ३५, उदयपुरमा ४६, ओखलढुंगामा ५७ र खोटाङमा ७० प्रतिशत रोपाई भएको निर्देशनालयको तथ्यांक छ । पहाडी जिल्लाहरुमा समग्र रोपाइ ५६ दशमलव ५ प्रतिशत भएको हो ।

धान उत्पादनमा देशकै मुख्य क्षेत्र मानिएको पूर्वी तराइमा पनि ५६ प्रतिशत रोपाई सकिएको छ । झापामा ६५, मोरङमा ६०, सुनसरीमा ७० र सिराहा ५५ प्रतिशत रोपाई भएको छ । पर्याप्त वर्षा नहुँदा मोरङ, सुनसरीको दक्षिणी क्षेत्रको रोपाइ केहि प्रभावित भएको निर्देशनालायका बाली प्रचार अधिकृत अधिकारीले बताए ।

यद्यपी किसानहरुले स्थानीय स्रोत, बोरीङ, पानी तान्ने पम्पको प्रयोग गरेर पनि रोपाइ गरी रहेकाले भदौ पहिलो सातासम्ममा रोपाई सकिने उनको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!