खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने पूर्वी पहाडी जिल्ला खोटाङ र ओखलढुंगाबीच पहिलो पटक सिधा यातायात सेवा शुरु भएको छ ।

Advertisement

सिधा यातायात सेवा शुरु भएपछि दुई जिल्ला आवत÷जावत गर्दा बीचमा पर्ने हिलेपानीमा ओर्लेर घण्टौँसम्म अर्को बस कुर्नुपर्ने बाध्यता हटेको छ ।

दिक्तेलबजारदेखि दैनिक बिहान ६ बजे र ओखलढुंगाबाट दैनिक बिहान साँढे ६ बजे बस छुट्ने व्यवस्था मिलाइएको खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङ्माङले जनाउनुभयो ।

महासचिव हिङमाङका अनुसार अहिलेका लागि प्रतिव्यक्ति रु ८०० भाडा लिएर बस सञ्चालन गरिएको छ । दुई जिल्लाको नाकामा पर्ने दूधकोशीमा पक्की पुल सञ्चालनमा आइसकेको कारण सिधा यातायात सेवा प्रभावकारी र दीर्घकालीन हुने व्यवसायीको ठम्याइ छ ।

यो सँगै ओखलढुंगासम्म चल्ने बसमा दिक्तेलबाट हुर्लुङ, नुनथला, महुरे, बिजुले, अर्खौले, हलेसी, जयरामघाटसम्म स्थानीयवासीलाई समेत यात्रा गर्न सहज हुनेछ । अहिले दिक्तेलबाट मात्र जीप तथा बस गरी दैनिक १७ वटा बाहिरी जिल्ला छुट्ने गरेको छ । दिक्तेल–काठमाडौँ, दिक्तेल–धरान र दिक्तेल–विराटनगर सिधा यातायात सेवा सञ्चालनमा रहेको यातायात व्यवसायी संघले जनाएको छ ।

निकट समयमै दिक्तेल–सोलुखुम्बु, दिक्तेल–कांकरभिट्टासम्म सिधा यातायात सेवा सञ्चालन हुने महासचिव हिङमाङले बताउनुभयो ।

एघार वर्षअघि नेपाली सेनाको हेलिकोप्टरबाट झुण्ड्याएर जिल्लामा दुई मिनी ट्रक भित्र्याइएको थियो । जिल्लामा अहिले ३०० भन्दा बढी सानाठूला सवारीसाधन सञ्चालनमा छन् । दुई नगरपालिका र आठ गाउँपालिकासहित दश स्थानीय तह रहेको जिल्लाका हरेक स्थानीय तहमा हिउँदभर यातायात सेवा सञ्चालन हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!