काठमाडौं, २८ चैत। नेपाली महिलाका जीवनी बेलायतको लिभरपुलस्थित लिभरपुल जोन मुर्स विश्वविद्यालयले आफ्नो पाठ्यक्रममा समावेश गरेको छ ।

विभिन्न क्षेत्रमा सक्रिय २५ जना महिलाका प्रेरणादायी जीवनी विश्वविद्यालयको मानविकी र समाज विज्ञान विभागले स्नातकोत्तर तहको पाठ्यक्रममा राखी अध्यापन गराउन थालेको हो ।

Advertisement

१४ वर्षअघि सुरु सेलिब्रेटिङ वुमनहुड नवदेवी अवार्ड्सबाट सम्मानित नेपाली महिलाका जीवनीलाई पुस्तकको रूप दिएर पाठ्यक्रममा राखिएको हो । अवार्डकी परिकल्पनाकार एवं संयोजक सिर्जनासिंह योञ्जन र विश्वविद्यालयकी रिडर डा. सारा पार्करले तयार पारेका ‘सेलिब्रेटिङ वुमनहुड : विमेन हू इन्स्पायर पोजेटिभ चेन्ज’ पुस्तकमा समाज परिवर्तनमा महŒवपूर्ण भूमिका निर्वाह गर्ने महिलाका संघर्ष कथा समेटिएका छन् ।

लामो समय नेपाली महिलाबारे अध्ययन अनुसन्धान गरी बटुलेका तथ्य अध्यापनमा समेट्दै आएकी सारा विश्वविद्यालयको पाठ्यक्रममा नेपाली महिलाको जीवनी समेटिँदा बेलायती विद्यार्थी पनि प्रेरित हुने बताइन् । पाठ्यक्रममा समेटिएका महिला आफ्ना कामका कारण निकै चर्चित र प्रेरणादायी भएकाले उनीहरूको जीवनी पढ्ने विद्यार्थी पनि उत्साहित हुने उनले बताइन् ।

३० वर्षदेखि नेपाल ओहोरदोहोर गर्दै पद्मकन्या क्याम्पसको सानिध्यमा महिलामाथि काम गर्ने उनले बेलाबेला बेलायतबाट विद्यार्थी ल्याएर अध्ययन गराउने गरेकी थिइन् । अहिले पाठ्यक्रममा समेटिँदा धेरै सजिलो भएको र बेलायती विद्यार्थीले बेलायतभन्दा यहाँ वास्तविक महिलावाद देख्न पाएको धारणा उनले राखिन् ।

विश्वविद्यालयले वेबसाइटमा पनि यी नेपाली महिलाका जीवनीको अनलाइन संस्करण अपलोड गरिसकेको छ । यसको नेपाली संस्करण प्रकाशन गरेर पद्मकन्या कलेजको पाठ्यक्रममा पनि समावेश गर्न पहल गरिने भएको छ ।

पाठ्यक्रममा समेटिएका महिलाले फरक भौगोलिक क्षेत्र, संस्कृति, सामाजिक र आर्थिक अवस्थाका साथै फरक व्यवसायको प्रतिनिधित्व गरेका छन् । पहिलो चरणमा २५ जनाको जीवन संघर्ष पाठ्यक्रममा समावेश गरिए पनि हालसम्म नवदेवी सम्मान पाउने सबैलाई समेटिने आयोजकले जनाएको छ । आजको अन्नपूर्ण पोस्ट मा यो समाचार छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!