- रबिन कटेल/संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका–३ पात्लेका कृषकले पालेको बाख्राले एकै वेतमा पाँच वटा पाठापाठी जन्माएपछि हेर्नेको भीड लागेको छ । स्थानीय पुण्यप्रसाद खतिवडाले पालेको बाख्राले बिहिवार राति ३ पाठा र २ पाठी जन्माएपछि हेर्नेको भीड लाग्न थालेको हो ।

Advertisement

बाख्राले सामान्यतया एक वेतमा एउटा पाठा वा पाठी जन्माउँने गर्छ । कतिपय बाख्राले जुम्ल्याहा पाठापाठी पाउँने गर्छ । एकै पटक तीन वटा पाठापाठी पनि बिरलै मात्र जन्मिएको भेटिन्छ ।

तर, खतिवडाले पालेको बाख्राले एकै वेतमा पाँच वटा पाठापाठी जन्माएपछि आश्चर्य मानेर हेर्नेको भीड लागेको हो । बर्बर, बिटल र जमुनापरी जातबाट क्रस गराईएको बाख्राले आश्चर्यजनक रुपमा पाँच वटा पाठापाठी जन्माएपछि हेर्नका लागि मान्छेहरु आउँने क्रम बढ्दै गएको कृषक खतिवडाले बताए ।

बाख्राको पाठा हेर्न पुगेकी स्थानीय रामकुमारी पाण्डेले तीन वटासम्म पाठापाठी पाएको सुनेको भएपनि पाँचवटा पाएको पहिलो पटक थाहा पाएर हेर्न आएको बताईन् । ‘तीन वटासम्म पाठापाठी पाएको सुनेकै हो ।’ पाण्डेले भनिन ‘पाँच वटा पाठापाठी पाएको पहिलो पटक देखियो ।’

बाख्राले एकै वेतमा पाँचवटा पाठापाठी जन्माएपछि हेर्न भेला भएका मानिसहरु । तस्वीर:रबिन कटेल/संगालोखबर

बाख्रा हेर्न आएका अर्का स्थानीय खेमप्रसाद बरालले समाचारमा कतै–कतै यस्तो सुनेको भएपनि प्रत्यक्ष नदेखेकाले हेर्न आएको बताए । एकै वेतमा पाँचवटा पाठपाठी जन्माएको यो क्षेत्रमा पहिलो रेकर्ड रहेको स्थानीय कृषकहरु बताउँछन । उक्त बाख्राले यसअघि तीन वटासम्म पाठापाटी जन्माएको थियो ।

पाँच वेतको सो बाख्राले पहिलो र दोस्रो पटक दुई÷दुई वटा, तेस्रो पटक तीन वटा, चौथो पटक एउटा र पाँचौ पटक पाँच वटै पाठा जन्माएको बाख्रापालक कृषक खतिवडाले जानकारी दिए ।

‘पाँचवटै पाठापाठीलाई माउको दुधले नपुगे गाईको दुध खुवाएर भएपनि बचाउँछु ।’ कृषक खतिवडाले खुशी हुँदै भने ‘पाँच वेत पर्खिनुपर्ने एकै वेतमा पाएपछि अचम्म मात्र हैन मलाई त नाफै–नाफा भयो ।’

थप तस्वीरहरु हेर्नुहोस्…

 तस्वीरहरु: रबिन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!