बागलुङ, २७ फागुन । बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसान सन्तबहादुर श्रीसले व्यावसायिक माछापालनबाट सफलता हात पार्नुभएको छ ।

माछा बेचेर श्रीसले गत वर्ष रु एक लाख आम्दानी गर्नुभयो । विसं २०७० मा सानो पोखरीबाट शुरु गर्नुभएका श्रीसले अहिले डेढ रोपनीमा फैलिएका तीनवटा पोखरीमा माछापालन गर्दै आउनुभएको छ ।

Advertisement

“पाँच सय भुरा राखेर माछा पाल्न शुरु गरेँ, कमाइ हुने देखेपछि विस्तारमा लागेँ”, ४० वर्षीया श्रीसले भन्नुभयो ।

पोखरीमा अहिले ग्रास कार्प र कमन कार्प गरी चार हजार भुरा रहेको उहाँको भनाइ छ । श्रीसले प्रतिकिलो रु ५०० मा माछा बिक्री गर्दै आउनुभएको छ ।

“माछाको माग अत्यधिक छ, बजारको कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “माछापालनलाई अझै विस्तार गर्ने सोचमा छु ।” उहाँले थप ११ रोपनी जग्गामा माछापालनको योजना बनाउनुभएको छ । शुरुमा रु ६५ हजारको लागतमा माछापालन शुरु गर्नुभएका श्रीसले जिल्ला कृषि विकास कार्यालयबाट रु २० हजार अनुदान पाउनुभएको छ ।

आफ्नै ठाउँमा बसेर कृषि उद्यम गर्न पाउँदा सन्तुष्टि मिलेको उहाँ बताउनुहुन्छ । केही वर्षअघि पोखरामा भएको कृषि तालीमपछि माछापालनतर्फ आकर्षित भएको श्रीसले सुनाउनुभयो । माछापालनसँगै उहाँले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ । उद्यमीको परिचय बनाउनुभएका श्रीसलाई उहाँकी श्रीमती टीकाकुमारीले सघाउँदै आउनुभएको छ ।

“हामीले मिलेरै काम गर्छौं, छोराछोरी पढाइमा बाहिर छन्”, टीकाकुमारीले भन्नुभयो, “कृषि पेशामै रमाएर बसेका छौँ, सन्तुष्ट पनि छौँ ।”

श्रीस दम्पतीको मेहनत देखेर गाउँका अन्यले पनि प्रशंसा गर्ने गरेका छन् । कास्की बेगनासबाट प्रतिभुरा रु ५० पैसामा ल्याउने गरेको श्रीसले बताउनुभयो । भुरा ल्याएर पोखरीमा छोडेको पाँच÷छ महिनापछि माछा बेच्न योग्य हुने उहाँको भनाइ छ । एक्लै ल्याउँदा ढुवानी महँगो परेपछि गाउँका माछापालक किसान मिलेर सँगै भुरा ल्याउने गरेका छन् ।

कम लगानी र मेहनतमा पर्याप्त आम्दानी हुने भएपछि माछापालनतर्फ किसानको आकर्षण बढेको हो । माछापालनसँगै समग्र कृषि उत्पादनमा सिङ्गो बरेङ गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार हाल बागलुङमा करिब १५० रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको छ । कार्यालयले व्यावसायिक माछापालन गर्ने किसानलाई वर्षेनी अनुदान उपलब्ध गराउँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!