काठमाडौँ, २४ फागुन । हिमाली भेगका करिब दुई हजार बौद्ध धर्मावलम्बीले ‘सप्तलोचन श्वेततारा’ को अभिषेक दीक्षा लिएका छन् ।

Advertisement

अभिषेक कार्यक्रममा सहभागी भएमा रोगव्याधिबाट मुक्त भई पारिवारिक सुख शान्तिका साथै दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ । नेपाल गेलुक संघले बुधबार बौद्धमा आयोजना गरेको अभिषेकमा विशिष्ट लामा गुरु गोसोक रिन्पोछेले सहभागीलाई मनमा हुने चन्चलतालाई नियन्त्रण गरी सत्कर्ममा लाग्न प्रेरणा प्रदान गर्नुभयो ।

बौद्ध विद्वान् टीका शेर्पाले लोभलालचबाट मुक्त हुने वैराग्य उत्पादनको शिक्षा, अरुको हितका लागि क्रियाशील रहन बोधिचित्तको शिक्षा र कुनै पनि वस्तुको स्वतन्त्र सत्ता हुँदैन भन्ने श्ून्यताको शिक्षा दिनुभएको थियो । बौद्ध साहित्यमा मानव जीवन दुर्लभ मानिने हुँदा संसारभरका जीव, जीवात्मा तथा प्राणी रक्षाका काम गर्नसकेमा मात्र पुण्य सञ्चय हुने विश्वास गरिएको छ ।

गेलुक सम्प्रदायका संस्थापक प्रमुख लामा चोङखापालाई मानिन्छ । लामा चोङखापालाई मन्जुश्रीको एक अवतारका रुपमा लिइएको छ । उहाँको जन्म सन् १४ औँ शताब्दीमा तिब्बतको खाम चोङखा भन्ने गाउँमा भएको र तीन वर्ष भएपछि उहाँले शाक्य सम्प्रदायका गुरुसँग मध्यम पञ्चशील ग्रहण गरी धर्मको यात्रा शुरु गर्नुभएको विश्वास छ ।

बुद्धधर्मसम्बन्धी सुत्र, तन्त्रबारे धेरै वर्ष अध्ययन अनुसन्धान गरी आफ्नो अध्ययनपश्चातको आत्मबोध तथा अनुभवलाई नयाँ सम्प्रदायका रुपमा स्थापित गर्न गादेन महाविहार स्थापना गरेको र नयाँ विधि, अनुशासन कायम गर्न गेलुक सम्प्रदायको स्थापना गर्नुभएको बताइएको छ ।

उहाँले पुरानो बौद्ध शिक्षा तथा ज्ञानमा आधारित भई नयाँ विधि र शासन अपनाउने क्रान्ति शुरुवात गरेको र धेरै धार्मिक कार्यका माध्यमबाट समाजमा सेवा गरेर ६१ वर्षमा महपरिनिर्वाण प्राप्त गर्नुभएको थियो ।

यस सम्प्रदायले आस्था प्रकट गर्ने ठूलो तीर्थस्थल लाब्राङ गुम्बा चीनको उत्तर पश्चिमी भागमा अवस्थित छ । त्यसमा तिब्बती बौद्ध धर्म मातहतमा छवटा बौद्ध शास्त्र प्रतिष्ठान हुनुका साथै हालसम्म त्यहाँ तिब्बती बौद्ध धर्मको पूर्ण शिक्षा प्रणालीलाई संरक्षित गरिएको संघका अध्यक्ष यान तेनले बताउनुभयो ।

त्यस गुम्बामा रहेका वास्तुकला, धार्मिक समारोह, बौद्ध धर्मको कला र तिब्बती शास्त्र आदि भएकाले त्यो स्थानीय तिब्बती जातिका नागरिकको सांस्कृतिक र कलाको केन्द्र पनि मानिन्छ ।

काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायका गुम्बा आबद्ध भएको उक्त संघले केही दिन अगाडि राष्ट्रकल्याणको कामना गर्दै विशेष पूजा सम्पन्न गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!