- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको एक औषधी पसलबाट म्याद नाघेको औषधी बिक्रि गरेको भेटिएपछि प्रशासनले आईतवार औषधी पसलमा छापा मारेर औषधी पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

हुलाकटोल स्थित सूर्य बिनायक फार्मेसीबाट म्याद नाघेको औषधी बिक्रि गरिएपछि औषधी पसलमा प्रशासनले छापा मारेको हो ।

Advertisement

आईतवार हिले नजिक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका तेह्रथुमको छथर गाउँपालिका-५ का ५६ बर्षीय इन्द्रबहादुर बस्नेत औषधी किन्न जाँदा सो औषधी पसलबाट दुई महिना अघि नै म्याद सकिएको औषधी बिक्रि गरिएको थियो ।

म्याद नाघेको औषधी देखाउँदै घाईते खरिदकर्ता इन्द्रबहादुर बस्नेत । तस्वीर : संगालोखबर

बस्नेतले घाउको संक्रमण हुनबाट जोगाउँने जिलसेफ नामको ५ सय एमजीको औषधी खरिद गरेका थिए । औषधी सेवन गर्न लाग्दा मिति सकिएको देखेपछि आफु झस्किएको बस्नेतले बताए ।

उक्त औषधीमा उत्पादन मिति जनवरी २०१५ रहेको छ भने उपभोग गर्ने अन्तिम मिति जनवरी २०१७ उल्लेख छ ।

म्याद सकिएको औषधी । तस्वीर-संगालोखबर

औषधी पसलले म्याद नाघेको औषधी दिएपछि घाईतेसहित उनका आफन्त पत्रकार महासंघ पुगेका थिए । उनीहरुले पत्रकारहरुसमक्ष म्याद नाघेको औषधीसहित बिल देखाएर औषधी पसलले मानव स्वास्थ्यमा खेलवाड गरेको भन्दै कारबाहीको माग गरेका छन ।

उनीहरुले सोही बिषयमा प्रशासनलाईसमेत जानकारी गराएपछि जिल्ला प्रशासनका कर्मचारी, प्रहरी, जिल्ला स्वास्थ्य प्रमुख लगायतको टोलीले औषधी पसलमा आकस्मिक अनुगमन गरेको थियो ।

म्याद नाघेको औषधी बिक्रि गरिएपछि पसल अनुगमन गरिदै । तस्वीर : संगालोखबर

अनुगमनका क्रममा औषधी पसलमा मुटुरोगीले सेवन गर्ने रोभास नामक एक बट्टा औषधी पनि म्याद नाघेको भेटिएको जिल्ला स्वास्थ्य प्रमुख डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।

स्वास्थ्य जस्तो संवेदनसिल बिषयमा लापरबाही गरेर म्याद नाघेको औषधी बिक्रि गरिनु गैरजिम्मेवारपूर्ण काम भएको उनले बताए ।

म्याद सकिएको औषधी र बिल । तस्वीर-संगालोखबर

म्याद नाघेको औषधी भेटिएपछि पसल बन्द गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतिले जानकारी दिए । उनका अनुसार सो बिषयमा औषधी ब्यावस्था बिभागलाईसमेत जानकारी गराईएकाले केही दिन भित्रै औषधी ब्यावस्था बिभागको टोलीले पसलको अनुगमन गर्ने भएको छ ।

अनुगमन पश्चात औषधी पसल सञ्चालक अनिश गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रमुख सुदिप राजभण्डारीले बताए ।

अनुगमन टोलीले बन्द गरेको फार्मेसी । तस्वीर- संगालोखबर

उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला अध्यक्ष लोकेन्द्र खड्काले म्याद नाघेको औषधी बिक्रि गरिनु मानव स्वास्थ्यमाथी खेलवाड भएको भन्दै यसलाई रोक्नका लागि प्रशासनलेसमेत नियमित अनुगमन नगर्दा समस्या भएको बताएका छन ।

यता औषधी पसल सञ्चालक गिरीले आफुले झुक्किएर म्याद नाघेको औषधी बिक्रि गरेकोे दावी गरेका छन । अरु औषधी म्याद नाघेको नभएको दावी गर्दै उनले त्यही औषधी मात्र बिक्रि गर्नेक्रममा झुक्किएर गल्ति भएको स्वईकार गरेका छन । म्याद नाघेको औषधी हटाउँने क्रममा झुक्किएर एउटै बट्टामा परेकाले यस्तो समस्या आईपरेको गिरीको भनाई छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!