काठमाडौं, २१ फागुन । सेयर बजारप्रति नकारात्मक धारणा बनाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भन्दै त्यस्तो क्षेत्रमा लगानी गर्नु अर्थहीन भएको अभिव्यक्ति दिएपछि सेयर बजारमा ठूलो गिरावट आएको छ ।
नागरिक दैनिकका अनुसार साताको पहिलो दिन आइतबार नेप्से ४१.५६ बिन्दुले घट्दा लगानीकर्ताले एकै दिन ४८ अर्ब गुमाउन पुगे ।
खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएदेखि नै सेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । चार कारोबार दिनमा करिब ५५ बिन्दुले नेप्से घट्न पुगको छ ।
अर्थमन्त्रीबाट सेयर बजारसम्बन्धी नकारात्मक टिप्पणी आउनु, देशमा विद्यमान तरलताको समाधानमा कुनै प्रकारको चासो नदेखाउनु र सरकारको पुँजीबजारप्रति स्पष्ट धारणा नहुनु निन्दनीय रहेको आइतबार नै प्रेस विज्ञप्ति जारी गर्दै संघले बताएको छ ।
४७ अर्ब ५ करोड सम्पत्ति घट्यो
‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स आइतबार ८ दशमलव ५८ अंक घटेर २ सय ७६ दशमलव ८० बिन्दुमा पुगेको छ । यस दिन लगानीकर्ताको सम्पत्ति घटेर १५ खर्ब २७ अर्ब रुपैयाँमा सीमित भएको छ ।
यो अघिल्लो कारोबार दिनको तुलनामा ४७ अर्ब ५ करोड रुपैयाँ कम हो । नेप्से ३ दशमलव शून्य ९ प्रतिशत ओरालो लाग्दा कारोबार रकम भने खासै घटेको छैन । अघिल्लो कारोबार दिनको तुलनामा यस दिनको कारोबार रकम १० दशमलव ९४ प्रतिशत घटेको छ ।
यस दिन १ सय ५१ कम्पनीको ५ हजार ९ सय ४३ पटकको कारोबारमा ४८ करोड ३९ लाख ६७ हजार ५ सय ६ रुपैयाँबराबरको १३ लाख ११ हजार ९ सय ४८ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन २४ दशमलव ६७ स्केलमा पुगेको छ ।
खरिद–बिक्री चाप मापन गर्ने यस आरएसआई ओभरबट जोनमा पुग्नुले बजारमा खरिदचापभन्दा बिक्रीचाप बढी रहेको संकेत गर्छ ।