लुम्बिनी, १७ फागुन । चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जित्नुभएको छ ।

कपिलवस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको ४२ किलोमिटरको दौड दुई घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पूरा गरी उहाँले सो उपाधि जित्नुभएको हो ।

Advertisement

शान्ति म्याराथन लुम्बिनी पिस म्याराथन प्राली र एडभेन्चर स्पोट्र्स नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त म्याराथनमा नेपाली सेनाकै हरिप्रसाद रिमाल र खगेन्द्र भट्टले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्नुभएको छ । रिमालले दुई घण्टा ५७ मिनेट २४ सेकेन्डमा र भट्टले तीन घण्टा तीन मिनेट ४० सेकेण्डमा उक्त दूरीको दौड पूरा गर्नुभएको थियो ।


बुद्धले बुद्धत्व प्राप्त गरेपछि आफ्ना पितालाई पहिलो पटक भेटेको ठाउँ मानिएको कुदानबाट शुरु भएको दौड लुम्बिनी कपिलवस्तु क्षेत्रका विभिन्न बौद्य सम्पदास्थल निग्लिहवा, तिलौराकोट दरबार, बाणगंगा खोला, दोहनी हुँदै मायादेवी मन्दिर परिसरमा आएर समापन भएको थियो ।

सो अवसरमा प्रथम हुने श्रेष्ठले रु एक लाख राशिको ‘लुम्बिनी अशोका शान्ति’ पुरस्कार प्राप्त गर्नुभयो । दोश्रो हुने रिमालले रु ७५ हजार राशिको कपिलवस्तु हुएनसान शान्ति पुरस्कार तथा तेश्रो हुने भट्टले रु ५० हजार राशिको मायादेवी मन्दिर उत्थान शान्ति पुरस्कार प्राप्त गर्नुभयो ।

नेपाल, भारत, चीन, हंङकंङ, न्युजल्याण्ड, अमेरिका, जर्मनी, दक्षिण कोरिया, स्वीडेनलगायत देशको ९४ जना धावकको सो म्याराथनमा सहभागिता थियो ।

लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, नेपाल चेम्बर अफ कमर्स, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट, एडभेञ्चर स्पोट्र्स सोसाइटी नेपाललगायतका संस्थाले सो कार्यक्रमका लागि सहयोग गरेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!