काठमाडौं । कांग्रेसका नेता एवं पूर्वकृषि सहायकमन्त्री रामहरि ढुंगेलको बुधबारराति काठमाडौं डिल्लीबजारस्थित डेरामा निधन भएको छ । 

उनको निधन हृदयघातबाट भएको हुन सक्ने अनुमान गरिएको छ । बेडमा सुतेकै अवस्थामा उनलाई मृत अवस्थामा भेटिएको हो ।

Advertisement

अविवाहित ढुंगेल एक्लै बस्दै आएका थिए । राति केहि असजिलो भएपछि ढुंगेल हिमाल अस्पताल पुगेका थिए । अस्पतालले ग्यास्टिकको समस्या भन्दै सामान्य औषधि दिएर फर्काएपछि उनी कोठामा पुगेर सुतेका थिए । कांग्रेस नेता अर्जुन केसीका अनुसार बिहान मात्र उनको मृत्युबारे थाहा भएको हो । अहिले ढुंगेलको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको जनाइएको छ ।

पञ्चायत व्यवस्थाविरुद्ध कांग्रेसले चलाएको आन्दोलनदेखि ढुंगेल राजनीतिमा सक्रिय थिए । विद्यार्थी संघदेखि कांग्रेसका विभिन्न तहमा बसेर उनले राजनीति गरे । अनेकौं पटक जेलजीवन भोगेका ढुंगेल कृष्णप्रसाद भट्टराईसँग बढी प्रभावित थिए । २०५६ सालमा रामेछापेको क्षेत्र नम्बर दुईबाट सांसदमा निर्वाचित ढुंगेल केही महिना कृषि सहायकमन्त्री समेत बनेका थिए । पकरवास गाविसका जन्मेका ढुंगेल राजनीतिमा कुनै न कुनै कोणबाट सक्रिय थिए ।

नेपाली कांग्रेस रामेछापको सदस्य, सचिव, सभापति हुँदै उनी चार दशकभन्दा बढी विभिन्न पदमा क्रियाशील थिए । ईकान्तिपुरका अनुसार ढुंगेलको निधनको खबर सुन्नासाथ रामेछापबाट जिल्लास्तरका नेता तथा कार्यकर्ताहरु अन्तिम श्रृद्धाञ्जली दिनका लागि काठमाडौंतर्फ लागेका छन् । ढुंगेलको निधनले रामेछाप कांग्रेसमा ठूलो क्षति पुगेको कांग्रेसले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!