रासस

काठमाडौँ, ६ माघ। विपद् वा संकटको परिस्थितिमा पानीजन्य रोगको उपचारलाई अझ सहज बनाउन आपत्कालीन स्वास्थ्य क्लिनिक सञ्चालनमा आउने भएको छ ।

Advertisement

विपद्का समयमा जुनसुकै स्थानमा देखापर्नसक्ने त्यसप्रकारका रोगलाई नियन्त्रणमा लिई स्वास्थ्य सेवा पु¥याउन नेपाल रेडक्रस सोसाइटीले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा पहिलो पटक स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ ।

यसका लागि आपतकालीन अस्पताल एवं स्वास्थ्य संस्था सञ्चालन प्रक्रिया निर्देशिका तयार भई चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य स्वयंसेवकलाई समेत पहिलो चरणको तालिम सम्पन्न भएको सोसाइटीका स्वास्थ्य विभागका निर्देशक मोना अर्यालले जानकारी दिनुभयो ।

आपत्कालीन स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी सोसाइटी र स्वास्थ्य मन्त्रालयका बीचमा सहमतिसमेत भइसकेको छ । सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक एवं आर्थिक सहयोग क्यानेडियन रेडक्रसले नेपाल रेडक्रसलाई प्रदान गर्ने सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो ।

विसं २०७२ मा आएको विनाशकारी भूकम्प एवं गतवर्ष तराई मधेशमा आएका बाढीबाट शिक्षा लिई तत्काल आपत्कालीन स्वास्थ्य सेवा दिन नयाँ सेवा सञ्चालन ल्याउन लागेको उहाँले बताउनुभयो ।

उसो त क्यानेडिन रेडक्रसले भूकम्पपश्चात् फिल्ड अस्पताल सञ्चालन तथा भूकम्पले क्षति पुगेका स्वास्थ्य संस्थाको पुनःनिर्माणमा समेत आर्थिक एवं प्राविधिक सहयोग गरेको सोसाइटीद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका राष्ट्रिय संयोजक उमेश ढकालले जानकारी दिनुभयो ।

यसैबीच, आपत्कालीन अस्पताल सञ्चालन सम्बन्धी पाँचदिने तालिम चितवनमा सम्पन्न भएको छ । तालिमका क्रममा कृत्रिम अभ्याससमेत गरिएको सोसाइटीले जनाएको छ । स्थलगत अभ्यासका क्रममा सहभागीलाई अस्पताल सञ्चालनका लागि बिरामीको स्वास्थ्य परीक्षण, भर्ना कक्ष, आकस्मिक तथा बहिरङ्ग सेवा, औषधि, प्रयोगशाला, खाद्यान्न, पानी, बिजुलीलगायत व्यवस्थापनका बारेमा प्रशिक्षण सम्पन्न भएको सोसाइटीका स्वास्थ्य सेवा विभागका प्रमुख अर्यालले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका प्रमुख डा भेषराज पोखरेल तथा वीर अस्पतालका डा सुखेन्द्रपुरुष ढकालले नेपाल विभिन्न विपद्को उच्च जोखिममा रहेको चर्चा गर्दै विपद् प्रतिकार्य क्षमतालाई विस्तार गर्नुपर्छ भन्नुभयो ।

सोसाइटीका राष्ट्रिय अध्यक्ष संजिव थापाले सोसाइटीले आफ्नो आपत्कालीन स्वास्थ्य सेवाको क्षमतालाई विस्तार गर्दै जाने नीति रहेको उल्लेख गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!