नयाँपत्रिका

काठमाडौं, ६ माघ । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी २२ वर्षीया रुमा थारूको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । रक्तस्राव भएपछि उपचार गर्न आएकी उनलाई अर्कै समूहको रगत चढाइएपछि जीवनमरणको दोसाँधमा पुगेकी छिन् ।

Advertisement

महिनावारी हुँदा अत्यधिक रक्तस्राव भएपछि परिवारले रुमालाई गत २१ पुसमा अस्पताल भर्ना गरेको थियो । ‘ओ’ पोजेटिभ रगत समूह भएकी उनलाई अस्पतालका स्वास्थ्यकर्मीले ‘बी’ पोजेटिभ चढाएका थिए । जसले उनको दुवै मिर्गौलाले काम गर्न छाडेको छ ।

रुमालाई अहिले भेरी अञ्चल अस्पतालको आइसियूमा राखेर उपचार भइरहको छ । अस्पतालले आइसियू, डाइग्नोसिस र औषधिमा लाग्ने सबै खर्च बेहोरिरहेको छ । तर, यहाँ उपचार सम्भव नभएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले बताए ।

शुक्रबारदेखि उनको स्वास्थ्य अवस्था झनै नाजुक बनेको छ । मुख सुनिएको छ, सहन नसक्ने गरी पेट दुख्न थालेको डा. आचार्यले बताए । उनलाई दुखाइ कम गर्ने कडा खालको औषधि दिइएको उनले बताए । ‘बिरामीको स्वास्थ्य अवस्थाको प्रकृति हेर्दा दिनप्रतिदिन जटिल बन्दै गएको छ,’ डा. आचार्यले भने ।

निलम्बन भइन् नर्स
चिकित्सकले दिएको प्रेस्क्रिप्सनभन्दा विपरीत समूहको रगत दिने स्टाफ नर्स कल्पना विकलाई अस्पताल प्रशासनले निलम्बन गरिसकेको निमित्त मेसु आचार्यले बताए । उनले बिरामीले पाएको दुःखको क्षतिपूर्ति भर्न नसकिए पनि अस्पताल प्रशासनले बिरामीको निःशुल्क उपचार गर्ने बताए ।

दुई सातासम्म गोप्य राखियो घटना
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले बिरामीलाई ठीक गर्न सकिन्छ कि भनेर दुई हप्तासम्म घटना गोप्य राखेको बताए । घटना लुकाउन नसकिने अवस्था आइसकेको उनले बताए । गाइनोलोजी विभागबाट आइसियूमा छोरीलाई ल्याएको भनिए पनि के कारणले ल्याएको हो जानकारी नदिएको रुमाका बाबु राजुले बताए । आफूलाई छोरीको स्वास्थ्य अवस्थाबारे जानकारी नभएको उनले बताए । ‘छोरीको स्वास्थ्य अवस्थाबारे अस्पताल प्रशासनले कुनै जानकारी नदिएर गोप्य राखेको छ,’ उनले भने ।

अस्पतालद्वारा लापरबाही भएको स्वीकार
कर्मचारीको लापरबाहीले रुमाको स्वास्थ्य बिग्रिएको भेरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण आचार्यले स्विकारे । चिकित्सकको प्रेस्क्रिप्सनभन्दा विपरीत समूहको रगत दिने र रगतको ब्यागमा उल्लेख गरिएको समूह नहेरेर रगत चढाउने स्टाफ नर्स दुवैको गल्ती भएको उनले बताए । ‘ब्लड बैंकका कर्मचारी र स्टाफ नर्स दुवैको गल्ती देखिन्छ,’ उनले भने ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!