काठमाडौं, ५ माघ। राष्ट्रिय उपभोक्ता मञ्चले चिनी आयातमा लाग्दै आएको भन्सार मूल्य यथावत राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
चिनी आयातकर्ताले विदेशबाट आयातित चिनीको कारण स्वदेशी चिनी बिक्री वितरण नभएको र विदेशी चिनीको मूल्यमा प्रतिस्पर्धा गर्न नसकी स्वदेशी चिनी उद्योग धाराशायी हुन लागेकोजस्तो कपोलकल्पित भ्रम सिर्जना गरेको भन्दै मञ्चले सरकारको ध्यानाकर्षण गराएको हो । उद्योग मन्त्रालय, वाणिज्य मन्त्रालय र आपूर्ति मन्त्रालयलाईसमेत भन्सार मूल्य बढाउन दबाव दिइएको भन्दै मञ्चले भन्सार मूल्य यथावत राख्न प्रधानमन्त्रीलाई सुझाएको छ ।
चिनी आयातकर्ताले सरकारलाई झुटो विवरण पेश गरेकोमा पनि मञ्चले आपत्ति जनाएको छ । मञ्चद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उत्पादकसँग भएको चिनीको भण्डारण अत्याधिक हुँदा तिनले चाहेको मूल्य पाउन नसकेकाले नेपाल सरकारले चिनीको आयातमा लगाउँदै आएको भन्सार मूल्य बढाउनका लागि दबाव दिएको छ ।’
मञ्चका अनुसार दैनिक उपभोग्य बस्तु चिनीको आपूर्ति ६० प्रतिशत विदेशबाट हुन्छ भने ४० प्रतिशत स्वदेशमै उत्पादन हुन्छ । तर नेपालका चिनी उत्पादकले स्वदेशी चिनी उत्पादनमा चासो नदिएको मञ्चको ठहर छ । चिनीका लागि आवश्यक पर्ने कच्चा पदार्थको रुपमा प्रयोग हुने उखुको मूल्य तिर्न चिनी उत्पादकले आलटाल गर्ने र कहिल्यै उचित मूल्य नदिने गरेकाले उखु किसान निराश भएको मञ्चले जनाएको छ ।
अन्तर्राष्ट्रिय चिनीको मूल्य हेरेर उखुको मोलतोल गर्ने र किसानलाई समयमा पैसा नदिने प्रवृत्ति रहेको तथा चिनी उत्पादक आफैं चिनी आयातकर्ता समेत भएकाले किसान मारमा परेको ज्ञापनपत्रमा उल्लेख छ ।