रासस

 

Advertisement

काठमाडौँ, २८ पुस । स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ ।  रणनीतिले नीति निर्माता, सेवा प्रदायक, यससँग सम्बन्धित मन्त्रालय, निकाय एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सूर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रम विकास र कार्यान्वयनमा मार्गदर्शन गर्नेछ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सो महत्वकाङ्क्षी रणनीति तयार गरेको हो ।  केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहोराले रणनीति सार्वजनिक गर्दै नसर्ने रोगको प्रमुख कारक तत्वका रुपमा रहेको सूर्तीजन्य पदार्थ नियन्त्रण र रोकथाममा रणनीति कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

उनले स्थानीय, प्रदेश र केन्द्रमा रणनीतिलाई कार्यान्वयनमा ल्याउन अन्तरमन्त्रालय समन्वयको आवश्यकता औँल्याउँदै सूर्तीजन्य पदार्थ उत्पादनमा नै रोक लगाउनुपर्नेमा जोड दिए ।

सरकारले विश्व स्वास्थ्य संगठनको सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धिमा सन् २००३ डिसेम्बर ३ मा हस्ताक्षर गरी सन् २००६ को नोभेम्बर ७ मा पारित गरेको थियो । महासन्धि कार्यान्वयन गर्न यससम्बन्धी ऐन तथा नियमसमेत मन्त्रालयले जारी गरिसकेको छ ।

मन्त्रालयका अनुसार नेपालमा सूर्तीजन्य पदार्थ सेवनका कारण वर्षेनी १५ हजारको अकालमै मृत्यु हुने गर्छ । खासगरी क्यान्सर, दीर्घ श्वासप्रश्वास, मुटुरोग र मधुमेहजस्ता रोग यसको सेवनका कारणले लाग्ने गर्छन् ।

स्वास्थ्य मन्त्रालयका सचिव डा.पुष्पा चौधरीले नसर्ने रोगलाई कमी ल्याउन सूर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन आवश्यक रहेकामा जोड दिँदै रणनीतिलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिइन् ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.रोजेन्द्र पन्त र केन्द्रका निर्देशक बद्रिबहादुर खड्काले सूर्तीजन्य पदार्थको नियन्त्रणले दिगो विकासको लक्ष्यलाई प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । रणनीतिमा सूर्तीजन्य पदार्थको प्रयोगको अनुगमन, धुवाँरहित सार्वजनिकस्थल, सूर्तीजन्य पदार्थ त्याग्न प्रोत्साहनलगायतका बुँदा  रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!