नयाँपत्रिका

लमजुङ, २८ पुस । जिल्ला अस्पताल लमजुङमा दुई महिनादेखि निःशुल्क औषधि छैन । सरकारले औषधि खरिदको बजेट नपठाउँदा निःशुल्क दिनुपर्ने ७२ प्रकारका औषधि सकिएको हो ।

Advertisement

अस्पतालमा मंसिरदेखि नै निःशुल्क औषधिको अभाव भएको प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिए । यो वर्ष औषधि खरिदको बजेट नआएकाले निःशुल्क औषधि खरिद गर्न नसकिएको देवकोटाले बताए । उनले भने, ‘स्वास्थ्यसम्बन्धी सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला अस्पतालले औषधि खरिद गर्न नपाएको हो ।’

निःशुल्क औषधिको व्यवस्थापनका लागि अस्पतालले पहल गरिरहेको देवकोटाले बताए । निःशुल्क रूपमा पाइने औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् । औषधि अभाव भएपछि टाढा–टाढाबाट आउने बिरामी थप समस्यामा परेको अस्पतालले जनाएको छ ।

‘अस्पतालमा धेरै प्रयोग हुने निःशुल्क प्रकारका औषधि सकिएको अवस्था छ र कम प्रयोग हुने केही औषधि मात्र बाँकी छ,’ देवकोटाले भने । उपचारका लागि अस्पतालमा आएकी दोर्दी गाउँपालिका– १ भारतेका सावित्री अधिकारीले निःशुल्क रूपमा पाउँदै आएको औषधि अस्पतालमा नपाउँदा समस्या भएको बताइन् । उनले भनिन्, ‘पहिले निःशुल्क रूपमा पाइने औषधि अहिले किनेर खानुपरेको छ, कहिलेसम्म किनेर खानुपर्ने हो ?’

उनी मात्र होइन, बेसीसहर नगरपालिका– ७ रामचोकबेँसीका अर्जुन सेढार्इं पनि निःशुल्क प्रयोग गर्दै आएको औषधि नपाउँदा निकै चिन्तित छन् । अस्पतालमा निःशुल्क औषधि नपाएपछि उपचार गर्न अस्पतालमा आएका बिरामी स्वास्थ्य परीक्षण गरेर अन्यत्रै औषधि किन्न बाध्य छन् ।

चिसोका कारण अस्पताल आउने बिरामीको संख्यामा समेत वृद्धि भएको छ । अहिले दैनिक दुईदेखि तीन सय बिरामी चिसोका कारण विभिन्न समस्या लिएर अस्पताल आउने गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!