- देबराज राई/संगालोखबर

उदयपुर । उदयपुरमा आँखा अस्पताल भवन निर्माण सुरु गरिने भएको छ । मध्य तथा माथिल्लो सगरमाथा क्षेत्रलाई लक्षित गरी आँखा अस्पताल बनाउँन भवन निर्माण सुरु गरिने भएको हो ।

स्थानीय राजनीतिकदलबीचको आपसी असमझदारीका कारण भवन निर्माण पहल स्थिर रहेको खवर सञ्चारमाध्यममा आएसँगै सर्वदलीय समितिले शुक्रबार पत्रकार सम्मेलन गरी द्रुत गतिमा भवन निर्माणको कार्य सुरु हुने जानकारी दिएको हो । नेपाल नेत्रज्योती संघ जिल्ला शाखा उदयपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जिल्लास्थित राजनीतिक दलहरुले भवन निर्माणका लागि आफूहरुको पूर्वाग्रह नरहने दावी गरे ।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र जनमोर्चा नेपाल गायत दलका प्रतिनिधिहरुको सहभागिता थियो । निर्माणका लागि भौतिकदेखि दातासँगको समन्वयात्मक भूमिकामा पनि आफूहरुले उत्तिकै सहयोग गर्ने उनीहरुले प्रतिबद्वता जनाएका छन ।

बिबाद, संवाद र समाधान : अध्यक्ष राउत

एशियाकै महत्वपूर्ण मानिने सगरमाथा चौधरी आँखा हस्पिटल लाहानको बिकल्पका रुपमा निर्माण हुन लागिरहेको अस्पतालका लागि त्रियुगा नगरपालिकामार्फत भवन निर्माण समिति आधिकारिक गठन हुने नेत्रज्योती संघ उदयपृुरका अध्यक्ष भागवत राउतले जानकारी दिए । अध्यक्ष राउतका अनुसार नेत्रज्योती संघकै पदाधिकारीको अध्यक्षतामा ९ सदस्यीय समिति गठनसँगै जिल्ला विकास समिति उदयपुरसँग आधिकारिक निर्माण सम्झौता गरी भवन निर्माण प्रारम्भ हुने छ ।

पत्रकार सम्मेलनको क्रममा अध्यक्ष राउतले बाहिरबाट हेर्दा सामान्य बिबाद सिर्जना भएको भएपनि आन्तरिक समस्या खास नरहेको दाबी गरे । ‘बिबादपछि संवाद र समाधान नेपालीहरुको परिपाटी नै हो’ राउतले भने, ‘सुरुवातमा केही सामान्य प्राबिधिक समस्या आएको भएपनि हाल समझदारी कायम भइसकेको बताए ।

राउतका अनुसार समितिले औपचारिक कार्य थालेपछि यसै आर्थिक वर्षको असार मसान्तभित्र भवन निर्माण कार्य सम्पन्न हुने भएको छ । निर्वाचन पूर्वाधार कोषबाट छुट्याइएको ४० लाखबाट काम तत्काल थालिने र बाँकी आर्थिक सहजताका लागि जापानी दूताबासलगायतका दातृनिकायबाट समन्वयात्मक पहल भइरहेको अध्यक्ष राउतको भनाई छ ।

कानुनत सामान्य बाधा मुख्य कारण
पछिल्लो परिमार्जित कानुन अनुसार कुनै पनि संघसंस्थालाई जग्गा दिने अधिकार स्थानीय निकायलाई कटौति भएको कारण मुख्य समस्या देखिएको नेपाली कांग्रेस त्रियुगा नगर सभापति सरोज बस्नेतले बताए ।

सामाजिक संस्था भएपछि सार्वजनिक जग्गा पास गर्ने अधिकार स्थानीय निकायलाई कटौती हुदा सामान्य अन्यौलताले समस्या निम्त्याएको तर, जिल्लास्थित सरोकारवालाबीच छलफलपछि दीर्घकालिन समाधान खोजीने उनको भनाई थियो ।

त्यस्तै नेकपा एमालेका प्रतिनिधि प्रकाश बस्नेतले बिनाबिबाद स्वतस्फूर्त निर्णय सर्वसम्मत भएको बताए । बिबादरहित शान्तपूर्ण छलफलबाट भवन निर्माणका लागि सहमति आएको बस्नेतको भनाई थियो । ‘तीन दिनभित्रै सहमती टुंगोमा पुगेको थियो’ बस्नेतले भने, ‘हामीबीच कुनै बिबाद छैन, बरु सहकार्यको वातावरण बनेको छ ।’

त्यस्तै बिभिन्न सञ्चारमाध्यमहरुमा अतिरञ्जीत खवर आएकाले बाहिर असर नकारात्मक देखिन पुगेको माओबादी केन्द्रका प्रतिनिधि किरण राईले गुनासो गरे । जिल्लास्थित दलहरुबीच भवन निर्माणको सम्बन्धमा कुनै दुईमत नरहेको तर, सञ्चारमाध्यमबाटै बाहिरिएको अनर्गल खवरले आफूहरुको ध्यानाकर्षण गराएको राईले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!