काठमाडौँ । राजधानीका ठूला अस्पतालहरुले नै सर्वसाधारण ठग्ने गरेको तथ्य खुलेको छ । आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौंका ठूला अस्पतालहरुमध्येका बल्खुस्थित बयोधा हस्पिटल, धापासीको ग्रान्डी ईन्टरनेशनल अस्पताल, बसुन्धाराको ईशान बाल तथा महिला अस्पताल र बाँसबारी स्थित नेशनल ईन्टिच्युट अफ न्युरोलोजी एण्ड एलाईड साईन्सेज प्रा.लि.ले ठगी गरेको भन्दै अनुसन्धान गर्नका लागी काठमाडौं प्रहरीलाई पत्राचार गरेको छ ।

मंसिर अन्तिम साता विभागबाट गएको अनुगमन टोलीले उक्त अस्पतालहरुले विरामी ठग्ने गरेको तथ्य फेला परेको भन्दै थप अनुसन्धान गरेर ‘ठगी’मा मुद्दा चलाउन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको हो ।

Advertisement

महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख (एसएसपी) रवीन्द्र धानुकले विभागबाट करिब आधा दर्जन ठूला अस्पतालमाथि अनुसन्धान गर्न पत्र आएको पुष्टि गरेका छन् ।

रातोपाटीसँग कुरा गर्दै एसएसपी धानुकले भने, ‘केही ठूला अस्पतालले ठगी गरेको तथ्यसहितको पत्र पाएका छौँ, त्यस्ता अस्पतालहरुमाथि अनुसन्धान शुरु भैसकेको छ ।’

मंसिर २७ गते आपुर्ति ब्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका रमेश काजी श्रेष्ठ समेत भएको बजार अनुगमनका निरीक्षण टोलिले काठमाडौंको गोल्फुटार बासबारीस्थित नेशनल ईन्स्टिच्युट अफ न्युरोलोजी एण्ड एलाईड साईन्सेस प्रा.लिमा अनुगमन गरेको थियो । अनुगमन टोलीले उक्त अस्पतालले सर्भिस चार्जको रुपमा थप १० प्रतिशत रकम लिने गरेको फेला पारेपछि अस्पताल प्रशासनसँग बयान समेत लिएको विभाग स्रोतले जनाएको छ ।

विभागका एक अधिकृतका अनुसार अनुगमन टोलीले ‘१० प्रतिशत थप रकम के–कति कारणले जोडिएको हो ?’ भन्नबारे ३ दिनभित्र लिखित कारण खुलाउन निर्देशन दिएको थियो । तर, तेस्रो दिन नेशनल ईन्स्टिच्युट अफ न्युरोलोजी एण्ड एलाईड साईन्सेस प्रा.लि ले कारण खुलाउनुको साटो विभागलाई पत्र बुझाउँदै अनुगमन पश्चात १० प्रतिशत थप सेवा शुल्क लिन बन्द गरिएको जानकारी दिएको छ ।

नेशनल ईन्स्टिच्युट अफ न्युरोलोजी एण्ड एलाईड साईन्सेस प्रा.लि.ले सेवा प्रवाह गरेबापत के–कुन शीर्षकमा कति रकम लिनुपर्ने भन्ने कुनै विधि सम्मत दर रेट निर्धारण नगरेको भन्दै विभागले आवश्यक अनुसन्धान गरेर मुद्दा चलाउन प्रहरीलाई पत्राचार गरेको छ ।

त्यस्तै, बसुन्धारा स्थित ईशान बाल तथा महिला अस्पतालले बेड, बेड चार्ज डिलक्स गरी एकै शीर्षकमा २ पटक, गेटपास चार्ज, अपरेशन चार्ज, प्रकृया चार्ज, प्रि–एनेक्स चार्ज तथा विरामी कुरुवाको समेत भनि विभिन्न शुल्क लिएको देखिएको भन्दै प्रचलित कानुन अनुसार ठगी मुद्दामा अनुसन्धान गर्न विभागले काठमाडौं प्रहरीलाई पत्राचार गरेको छ ।

अस्पतालको छतमा ‘हेलिप्याड’ समेत भएको बयोधा अस्पताल र अर्को ठूलो अस्पताल ग्रान्डी इन्टरनेशनल माथी अनुसन्धान शुरु गरिएको काठमाडौं प्रहरी प्रमुख (एसएसपी) रवीन्द्र धानुकले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!